ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

पाटा ट्राभल मार्ट–२०२४ मा नेपालको उत्कृष्ट प्रदर्शन (फोटोफिचर)

काठमाडौं । नेपालले थाइल्यान्डको बैंककमा आयोजित पाटा ट्राभल मार्ट–२०२४ मा प्रतिष्ठित पुरस्कारहरू जित्दै र १८ वटा पर्यटन सम्बद्ध निजी क्षेत्रका पाटा नेपाल सदस्य कम्पनीहरूसहित सशक्त सहभागिता जनाउँदै नेपालको पर्यटन प्रवद्र्र्धन सम्पन्न गरेको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) द्वारा आयोजित पाटा ट्राभल मार्टमा ४५ वटा गन्तव्यहरूबाट ९०० भन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए, जसमा विभिन्न २४ गन्तव्यहरूका १६८ बिक्रेता संस्थाहरुबाट २६६ जनाप्रतिनिधिहरुका साथै ३१ स्रोत बजारका १७३ संस्थाहरुबाट १९१ क्रेता प्रतिनिधिहरु सहभागी भए । पाटाको मुख्यालय थाईल्याण्ड स्थानान्तरणको २५ औं वर्षको विशेष अवसरमा मार्टको ४७ औं संस्करण थाइल्यान्डको राजधानी बैंककस्थित ‘क्विन सिरिकिट नेशनल कन्भेन्सन सेन्टर’ मा आयोजना गरिएको थियो ।

विश्वभरका सबभन्दा सक्रिय पाटा च्याप्टरहरू मध्ये एक, पाटा नेपाल च्याप्टरले वर्ष २०२३–२४ मा पाटाको उद्देश्य र भावना अनुरुप पर्यटन क्षेत्रको प्रवद्र्धन, बजारीकरण र दिगो विकासका लागि सम्पन्न गरेका उत्कृष्ट गतिविधिहरूको सम्मानस्वरुप ‘पाटा अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरेको छ । पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाई, निवर्तमान अध्यक्ष विभूतिचन्द ठाकुर, महासचिव नरेन्द्र भट्ट र प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले अगस्ट २९, २०२४ मा द अबान्डन्ड म्यान्सन बैंकक (द कोच होटल) मा आयोजित पाटा पावर अफ नेटवर्किङ कार्यक्रमको क्रममा यो प्रतिष्ठित पुरस्कार ग्रहण गरे ।

सर्वोत्कृष्ट च्याप्टरका रुपमा पुरस्कार प्राप्त गरेकोमा अध्यक्ष लकाईले भने, “कारण महत्वपूर्ण हैनकि; नतिजा महत्वपूर्ण हुन्छ । पाटा नेपाल च्याप्टरले चुनौतीपूर्ण समयमा गरेका कामहरू अहिले विश्वभर मान्यता पाएको छ, र हामी नेपाल टिमको रूपमा गौरवान्वित भएका र्छौं र हामी हाम्रो देशको पर्यटन मार्फत साझा समृद्धिमा विश्वास गर्छौं।”

त्यसैगरी अगष्ट २८ मा आयोजित पाटा गोल्ड अवार्ड प्रस्तुति समारोहमा नेपाल पर्यटन बोर्डको एसटीएलआर परियोजनाले समुदायमा आधारित पर्यटन विधामा पाटा गोल्ड अवार्ड र इन्टरपीड डीएमसी नेपाललाई ‘सस्टेनाबिलिटी एन्ड सोसियल रेस्पोन्सीबिलिटी’ विधामा ग्रान्ड टाइटल विजेता अवार्ड प्रदान गरियो ।

पाटा ट्राभल मार्टमा नेपाल पेभिलियनअन्तर्गत सहभागी १८ वटा पर्यटन सेवा प्रदायक कम्पनीहरूमा हेरिटेज टुर्स एण्ड ट्राभल्स, लेमन ट्री प्रिमियर, नेपाल एयरलाइन्स कर्पोरेशन, भृकुटी हिमालयन ट्रेक्स, डेस्टिनागो टुर्स एण्ड ट्राभल्स, होटल हिमालय, एक्सपेडिसन हिमालय, होटल रत्न सँभवा, समुदाय होमस्टे नेटवर्क, लक्जरी डीएमसी ट्राभल्स, हिमालयन होलिडेज ट्रेकिङ, बुद्धिस्ट सर्किट्स डट कम, सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटी, केजिएच ग्रुप अफ होटल्स, युरो एसिया टुर्स एण्ड ट्राभल्स, माउन्टेन टाइगर नेपाल, भिजिट हिमालय ट्रेक्स, अफ द वाल ट्रेकिङ, र नेपाल योगा होम रहेका थिए ।

पाटाका प्रमुख कार्यकारी अधिकृत नूर अहमद हमिदले भने, “पाटा ट्राभल मार्टले एसिया प्यासिफिक पर्यटनको भविष्यप्रतिको हाम्रो प्रतिबद्धतालाई यस क्षेत्र र बाहिरका उच्च गुणस्तरका खरिदकर्ता र विक्रेताहरूका लागि प्लेटफर्मको रूपमा सेवा प्रदान गर्दछ । यसले दिगो पर्यटन विकासलाई प्रवद्र्धन गर्ने संस्थाको लक्ष्यलाई झल्काउँछ र बैंककमा यस वर्षको कार्यक्रमको आयोजनाले एशिया प्यासिफिक क्षेत्रभित्र नवीनता र सहयोगलाई बढावा दिँदै थाई पर्यटन संगठनहरूसँग पाटाको स्थायी साझेदारीलाई जोड दिएको छ । त्यस्त एशिया प्यासिफिकमा एक अग्रणी माईस गन्तव्यको रूपमा थाइल्याण्डको प्रतिष्ठा कायम राख्ने हाम्रो साझा प्रतिबद्धतालाई बलियो बनाएको छ ।”

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले पाटा ट्राभल मार्टमा नेपालको उत्साहजनक सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन सहकार्यलाई बढावा दिन र विश्व बजारमा यसको अतुलनीय आकर्षण र पर्यटन उपजहरुको प्रवद्र्धन गर्न सहयोग पुगेको बताएका छन् ।

Health Tips Ad Road Block