काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारीरूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य थालिएको छ ।
भक्तपुर, कीर्तिपुर, मध्यपुर थिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
पाँच क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेको र अब चाँडै अन्य प्रक्रिया सुरु हुने उनले बताए ।
उनका अनुसार मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारीरूपमा पुर्याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा काम गरिरहेको छ ।
हाल विभिन्न स्थानमा ‘रिजर्भ’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएर केयूकेएललाई अस्तान्तरण भएपछि घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण गर्ने अपेक्षा छ ।





















