काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२४ मा इलेक्ट्रोनिक भेइकल(इभी) बारे बुझ्न आउने र खरिद गर्नेको मोह देखिएको छ ।
आयोजकले ८० प्रतिशत इभी गाडीको सहभागिता रहेको जनाएपछि सर्वसाधारणहरु नाडा अटो शोमा नयाँ गाडीबारे जान्न उत्सुकता व्यक्त गर्दै खचाखच उपस्थित भएका हुन् । अटो शोमा टिकट खरिद गर्ने, मोटरसाइकल, स्कुटर, कार, पाटपूर्जासहित सबैतिर सर्वसाधारणहरु आफ्ना जिज्ञाशा मेटिरहेका भेटिन्छन् ।
धादिङ घर बताउने विवेक तिमल्सिनाले भने आटो शोभन्दा बाहिर गएपछि मात्रै फ्यूल गाडी देख्न पाइने रहेछ । अटो शोमा त विद्युतीय गाडी मात्रै र यी गाडीबारे भरपुर जानकारी लिन पाइयो । बैंकिङ सुबिधादेखि पाटपूर्जासम्मका सुविधाबारे शोमा भरपूर जानकारी मिलेको उनले बताए ।
उदयपुर घर बताउने सविन खड्काले दशैं, तिहार, छठलगायत चाडपर्व लक्षित छुट योजनाहरुका साथ इभी गाडी बुकिङ गरेको बताए । दुई पाँङ्ग्रे सवारीको छुट्टै, टायरको छुट्टै, लुब्रिकेन्टको छुट्टै, फोर ह्विलरको छुट्टै गरी फरक फरक स्टलहरु राखेर आकर्षक बनाइकाले आटो शोमा कुनै दुविधा नरहने र सर्वसाधारणको मनोविज्ञानलाई बुझेर आयोजकले राम्रो काम गरेको उनले प्रतिक्रिया दिए ।
भदौ १६ गतेसम्म चल्ने अटो शोमा नेपालमा बनेका ब्याट्री, लुब्रिकेन्ट, टायर र हेलमेटसमेत प्रदर्शनीमा रहेका छन् ।