skip this News Page Tips Ad Road Block

एनबीआईको २०औं वार्षिकोत्सव र स्मारिका विमोचन सम्पन्न: जिम्मेवार व्यावसायिक आचरण नै राष्ट्रिय समृद्धिको मार्ग

Citizenlife ad 2082 falgun to baishak 2083

ललितपुर। राष्ट्रिय व्यवसायिक पहल (NBI) को आयोजनामा संस्था स्थापनाको २० वर्ष पुगेको अवसरमा “जिम्मेवार व्यावसायिक अभियान: एनबीआईको दुई दशक” (The Responsible Business Movement: Celebrating Two Decades of NBI) विशेष कार्यक्रम होटल हिमालय, ललितपुरमा सम्पन्न भएको छ।

सो अवसरमा “The Responsible Business Movement: Two Decades of NBI” नामक स्मारिकाको औपचारिक विमोचन गरियो। कार्यक्रममा अध्यक्ष कुश कुमार जोशीले राष्ट्र निर्माणका लागि अब कूटनीतिभन्दा बढी इमानदारिता आवश्यक रहेको औंल्याउँदै सरकारसँग पूर्णतः नीतिमा आधारित प्रणालीको माग गरे । विगतको त्रुटिपूर्ण राज्य प्रणाली र प्रशासनिक जटिलताका कारण व्यवसायीहरूलाई नियम अनुपालनमा अप्ठ्यारो परेको यथार्थ स्मरण गराउँदै उनले नियतवश वा प्रणालीगत बाध्यता बीचको भिन्नता छुट्याएर मात्र अनुसन्धान गर्न सरकारसँग आग्रह गरे ।

कार्यक्रमको उद्‍घाटन सत्रमा एनबीआईका संस्थापक अध्यक्ष पद्म ज्योतिज्यूले संस्थाको २० वर्षको ऐतिहासिक यात्राको संस्मरण र अनुभवहरू साट्दै द्वन्द्वकालीन समयमा निजी क्षेत्रले शान्ति स्थापना र व्यवसायको दिगो विकासका लागि खेलेको अग्रणी भूमिकामाथि प्रकाश पारे । उनले व्यवसाय र समाजको सम्बन्ध परिपूरक रहेको चर्चा गरे।

कार्यक्रमको दोस्रो सत्रमा “जिम्मेवार व्यावसायिक आचरण र नेपालको समृद्धिको मार्ग” विषयक गहन प्यानल छलफल आयोजना गरिएको थियो। सामाजिक उद्यमी अनिल चित्रकारले सहजीकरण गरेको छलफलमा पूर्व मन्त्री रामेश्वर खनाल, सांसद गणेश पराजुली, कर्पोरेट अधिवक्ता प्रा. डा. गान्धी पण्डित र नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवन कुमार दाहाल प्यानलिस्टका रूपमा सहभागी थिए ।

प्यानल छलफलका वक्ताहरूले व्यावसायिक नेतृत्वमा स्पष्ट दूरदृष्टि हुनुपर्ने, कानुनी तथा वित्तीय अनुपालन र सामाजिक उत्तरदायित्वलाई दिगो व्यवसायको अनिवार्य आधार बनाइनुपर्नेमा जोड दिए । साथै, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार न्यूनीकरण, Environmental, Social, Governance (ESG) सिद्धान्त अनुपालनमा निजी क्षेत्रको तयारी र क्रोनी पूँजीवादको अन्त्यलाई आगामी दिनका प्राथमिक एजेन्डाका रूपमा औँल्याउँदै वक्ताहरूले जिम्मेवार व्यावसायिक अभ्यास नै राष्ट्रिय समृद्धिको सबैभन्दा दिगो आधार हुनुपर्ने बताए ।

सांसद गणेश पराजुलीले प्रभावकारी नीति नियम निर्माणका लागि आवश्यक अनुसन्धान तथा क्षमता विकासका लागि निजी क्षेत्रको सिएसआर कोषबाट सरकारलाई सहयोग गर्न विशेष आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष अन्जन श्रेष्ठले महासंघ देशमा व्यावसायिक तथा लगानीमैत्री वातावरण निर्माण, सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन तथा नीतिहरूको व्यावहारिक कार्यान्वयनका लागि जोड दिने र एनबीआईसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको दोश्रो सत्रमा स्थापनाकालदेखि हालसम्म सक्रिय रूपमा संस्थाका क्रियाशील संस्थापक सदस्य संस्थाहरु, संस्थापक सदस्य व्यक्तिहरू तथा विकास साझेदार संस्थाहरूलाई सम्मान-पत्र सहित सम्मानित गरियो।

एनबीआईका उपाध्यक्ष सुकुन्तलाल हिराचनले जिम्मेवार व्यावसायिक अभ्यास र आन्तरिक सुशासनलाई संस्थागत संस्कार बनाउँदै आर्थिक समृद्धिको यात्रामा सरकारसँग सक्रिय सहकार्य गर्न एनबीआई सधैं क्रियाशील रहने बताए ।

कार्यक्रममा एनबीआईका पदाधिकारी तथा सदस्यहरू, नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका अग्रणी संघसंस्था साथै नागरिक समाज, प्राज्ञिक वर्ग, विकास साझेदार, सञ्चारकर्मी र विभिन्न क्षेत्रका १०० भन्दा बढीको सहभागिता रहेको थियो।

“सफल समाज बिना व्यवसाय सफल बन्न सक्दैन, सफल व्यवसाय बिना समाज सफल बन्न सक्दैन” भन्ने मूल मान्यताका साथ नेपालका प्रमुख निजी क्षेत्रका छाता संगठनहरू र कर्पोरेट हाउसहरूद्वारा स्थापित राष्ट्रिय व्यवसायिक पहल (NBI) विगत दुई दशकदेखि शान्ति पुनर्स्थापना, दिगो विकास, जिम्मेवार व्यावसायिक अभ्यास तथा संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर क्रियाशील गैर-सरकारी संस्था हो।

Health Tips Ad Road Block