काठमाडौं । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणालीमा नगरपालिका र गाउँपालिका दुवैतर्फ धादिङ देशकै उत्कृष्ट बनेको छ ।नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ बेनीघाट रोराङ गाउँपालिका सर्वाधिक अंकसहित देशकै उत्कृष्ट बनेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विकास गरेको स्वमूल्यांकन प्रणालीमार्फत विभिन्न एक सय सूचकहरुमा भएको मुल्याङ्कनको आधारमा देशभरका नगरपालिका र गाउँपालिकामध्ये नीलकण्ठ नगरपालिकाले ९२.५० अंक र बेनीघाट रोराङ गाउँपालिकाले ८७.२५ अंक पाएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा भएका कामहरुमा आधारमा नीलकण्ठ नगरपालिकाले ९२.५० अंक ल्याएर देशकै उत्कृष्ट नगरपालिका बनेको थियो ।
स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणालीमा उत्कृष्ट अंक हासिल गर्नु भनेको सिमित स्रोत साधनका बीच पनि प्रणालीगत हिसाबले काम गरेर उत्कृष्ट नतिजा ल्याउनु हो । त्यस्तै विकास निर्माण, सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता लगायत विविद्य क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनले देशकै उत्कृष्ट ठहरिन सक्दछ ।
देशैभरको उत्कृष्ट नगरपालिका र गाउँपालिकाको रुपमा धादिङ छनौट हुनुले जनप्रतिनिधि एवं कर्मचारीलाई थप मनोबल बढाएको र आगामी दिनमा अझै राम्रो काम गर्नुपर्ने चुनौती थपिएको त्यहाँका जनप्रतिनिधिले बताएका छन् ।