skip this News Page Tips Ad Road Block

टेलिकमको मुनाफा ६ अर्ब ६१ करोड, अघिल्लो वर्षको तुलनामा १६.४४ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को आर्थिक वर्ष २०८०/०८१ खुद मुनाफा घटेको छ । आव २०८०/०८१ मा टेलिकमको खुद मुनाफा ६अर्ब ६१ करोड ७७लाख ७६ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा मुनाफा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ रहेको थियो । यसरी अघिल्लो वर्षको तुलनामा अर्ब ३० करोड २३ लाख ७८ हजार अर्थात् १६.४४ प्रतिशतले टेलिकमको मुनाफामा कमी आएको टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

गत आर्थिक वर्षमा टेलिकमको कर अघिको मुनाफा ११अर्ब ३७ करोड ९८ लाख ४ हजार रहेको थियो । अघिल्लो आर्थिक वर्षमा भने कर अघिको मुनाफा ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार रहेको थियो । कर अघिको मुनाफा अघिल्लो आवको तुलनामा ४६ करोड २७ लाख ५७ हजार अर्थात् ३.९१ प्रतिशतले कम भएको टेलिकमले जनाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३६.७७ रुपैयाँ रहेको छ ।

आव २०८०/८१ मा कूलआय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रहेको छ। अघिल्लो वर्ष कूल आय ४४अर्ब ४२ करोड ३६ लाख १८ हजारको तुलनामा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी भएको टेलिकमको वित्तीय विवरणमा उल्लेख छ ।

यता गत आवमा कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रहेको थियो । अघिल्लो आवको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार अर्थात् ४.९९प्रतिशतले कूल सञ्चालन आयमा कमी आएको छ ।

नेपाल टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ मा राजश्व र खुद मुनाफा कम हुनुमा ओटीटी सेवाको बढ्दो कारण अन्तर्राष्ट्रिय सेवा तथा अन्तर आबद्धता आयमा गत आर्थिक वर्षको तुलनामा करिब १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी हुनु हो । साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ । नेपाल टेलिकम राष्ट्रको सञ्चार भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्य गर्दा लागतसमेत बढेकाले पनि खुद मुनाफा कम भएको टेलिकमले जनाएको छ । सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएकाले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्ब रुपैयाँको भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्न २०८० पुसदेखि लगानी गर्न सकेको छैन । साथै सोसम्बन्धी भुक्तानीको निर्णय २०८१ वैशाखमा भएपछि केही बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्क अवधिभन्दा अगाडि फुकुवा गरी भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब २९ करोड ७३ लाखले कम भएको टेलिकमको वित्तीय विवरणमा उल्लेख छ ।

Health Tips Ad Road Block