काठमाडौं । अबदेखि ग्यास बिक्रेता र वितरकहरुले डिलर प्रमाणीकरण नगरी ग्यास बेच्न नपाउने भएका छन् । नेपाल आयल निगम, एलपी ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघको बीचमा मंगलबार भएको छलफलले बिक्रेता प्रमाणीकरण नगरी ग्यास बेच्न नपाउने निर्णय गरेको हो ।
छलफलले बिक्रेता प्रमाणीकरणका गरिसक्नुपर्ने मितिसमेत तोकेको छ । ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र थापाले विगतमा केही समय लागु भएर बन्द रहेको बिक्रेता प्रमाणीकरणको अवधारणा मंसिर १ गतेबाट पूर्णरुपमा लागु हुने गरी निर्णय भएको बताएका छन् । उनले भने, ‘विगत लामो समयदेखि बिक्रेता प्रमाणीकरणको कुरा उठिरहेको थियो । ती उठान भएका विषयलाई कार्तिक मसान्तसम्म सबै बिक्रेताहरु प्रमाणीकरणको अवधारणामा आइसक्नुपर्ने र मङ्सिर १ गतेबाट विक्रेता प्रमाणीकरण पुनः कार्यान्वयनमा आउने गरी आज निर्णय भएको छ ।’
विभिन्न कारणले बजारमा पुराना सिलिन्डरहरू आउने र त्यसले खतरा निम्त्याइरहेको सन्दर्भमा पनि घनिभुत छलफल भएको जानकारी दिँदै थापाले भने, ‘अब पुराना सिलिन्डरहरू उद्योगीले बिक्रेताहरू कहाँ नपठाउने र कथम कदाचित त्यस्ता सिलिन्डरहरू बिक्रेता कहाँ आइपुगेमा बिक्रेताले उपभोक्तालाई नपठाउने गरी कारोबार गर्ने सहमती भएको छ । उद्योग र बिक्रेता जिम्मेबार भएर कारोबार गर्नुपर्ने भएकाले यो विषय आएको भन्दै उपभोक्ताले पनि पुराना सिलिन्डर नलाने विषयमा चनाखो बन्नुपर्ने विषयबारे निर्णय भएको छ । ’
अध्यक्ष थापाका अनुसार योसँगै मङ्सिर १ गतेबाट जनचेतना कार्यक्रमलाई पनि सँगसँगै अगाडि लैजाने भन्ने निर्णय भएको छ । उद्योगीले प्रमाणीकरण गरेर सरकारी निकायमा बुझाइदिने र आयल निगम, वाणिज्य विभाग, गुणस्तरसहित सबैतिर तथ्याँक राखेर अगाडि बढिनेछ ।
मंगलबारको छलफलपछि भदौ १ गतेदेखि नै डिलर अर्थात् बिक्रेता प्रमाणीकरण थाल्ने र कार्तिक १ गतेभित्रमा सबै प्रमाणीकरण सकिसक्ने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले पनि बताए ।
अध्यक्ष घिमिरेले भने, ‘ डिलर प्रमाणीकरणको बारेमा लामो समयदेखि छलफल भइरहेको थियो । वाणिज्य विभागले केही वर्ष अगाडि प्रमाणीकरण गरेपनि त्यसै छोडिदिएको थियो। नेपाल आयल निगमको मार्गदर्शनअनुसार भदौ १ गतेदेखि पुनः प्रमाणीकरणको कार्य थालेर कार्तिक १ गतेसम्ममा सम्पन्न गरिनेछ । अब मापदण्डभित्र रहेर व्यवस्थित कारोबार हुनेछ । त्यसपछि मापदण्ड नपुगेका डिलरहरू हट्नेछन् । यसपछि बढीमा एउटा बिक्रेताले दुईवटा भन्दा बढी ग्यास बेच्न पाउँदैनन्। सुरक्षाको मापदण्डहरु सबै अनिवार्य गर्नुपर्नेछ । आवश्यक मापदण्ड पुगेकै हुनुपर्दछ ।’
अध्यक्ष घिमिरेले भने, ‘ डिलर प्रमाणीकरणमा नपरेका बिक्रेताहरूले ग्याँस बेच्न पाउँदैनन् । त्यो गैरकानुनी हुनेछ। उनीहरु स्वतः हट्नेछन् । प्रमाणीकरण नगरेका बिक्रेताहरुलाई राज्य वा उद्योगी कसैले चिन्दैन ।’
बिक्रेता प्रमाणीकरण भनेको ग्यासको बिक्री वितरणलाई व्यवस्थित गर्नका लागि ल्याइएको अवधारणा हो। बिक्रेता प्रमाणीकरणको अवधारणामा आइसकेपछि त्यो बिक्रेता कम्पनीको आधिकारिक डिलर हुनुपर्ने, स्थानीय निकाय लगायत सरकारी निकायमा दर्ता प्रक्रियाहरू सबै अपनाएर डिलरहरू राख्नुपर्ने, एउटा बिक्रेताले दुईवटा कम्पनीको मात्रै ग्यास राख्नुपर्ने, फायर फाइटिङ मेसिनसहित सुरक्षाका सामग्री राख्नुपर्ने, जोख्ने तराजु राख्नुपर्ने, ग्यासको पसल छुट्टै हुनुपर्ने लगायतका मापदण्ड पुरा गर्नुपर्नेछ ।
त्यसैगरी यो अवधारणाअनुसार मूल्यसूची अनिवार्य राख्नुपर्ने र त्यो बिक्रेता ग्यासको बारेमा जानकार हुनुपर्ने लगायतका विषयहरु अवलम्वन गरेर मात्रै ग्यासको ग्यासको बिक्री गर्न पाउनेछन् । किनभने ग्यासको कारोबार भनेको अति प्रज्वलनशील पदार्थको कारोबार हो । यसलाई अरू खाद्यान्न, तरकारी जस्तो हिसाबले कारोबार गर्न मिल्दैन । सोहीकारण मापदण्डभित्र रहेर व्यवस्थित कारोबार गर्नका लागि ल्याइएको अवधारणा बिक्रेता प्रमाणीकरण हो ।
जबसम्म विक्रेता प्रमाणीकरण हुँदैन, तबसम्म छरपष्ट रुपमा रहेका डिलरहरू व्यवस्थित हुँदैनन् र ग्यासको कारोबार पनि व्यवस्थित हुन सक्दैन भन्ने उद्देश्यअनुरूप बिक्रेता प्रमाणीकरण गर्ने काम भएको हो।