skip this News Page Tips Ad Road Block

२० वर्षको उमेरमै विवाह गरी छिटो बच्चा जन्माउन युवाहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन् । ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरुले विशेष सोच्नुपर्ने बेला भएको बताए ।

प्रधानमन्त्री ओलीले युवाहरुका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना साना उद्यमशीलताका कार्यक्रमसहित विकासको लहर ल्याउन सरकारले सोचिरहेको जानकारी दिए ।

ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने बताए ।

उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरु अभिभावकबिहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट गरे ।

सम्मेलनबाट प्राप्त पारित घोषणापत्रका विषयहरुलाई सरकारले कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आगामी असोजमा हुने राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दा पनि घोषणापत्रका विषय प्रतिबिम्बित गर्ने जनाए ।

Health Tips Ad Road Block