api apartment jhamsikhela mangsir 2081

skip this News Page Tips Ad Road Block

९ बुँदे माग राख्दै ग्यास बिक्रेताले गराए अर्थमन्त्रीकाे ध्यानाकर्षण

काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको प्रतिनिधिमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटी विभिन्न ९ बुँदे मागहरु पूरा गरिदिन माग गरेका छन् । ग्यास बिक्रेताका समस्या र समाधानका उपायबारे विभिन्न मुद्दाहरुको विषयमा उनीहरुले अर्थमन्त्रीलाई पत्र बुझाउँदै ध्यानाकर्षणसमेत गराएका हुन् ।

यतिबेला व्यवसायीको मनोबल बढाइदिनुपर्ने मुख्य आवश्यकता रहेको भन्दै महासंघका अध्यक्ष चन्द्र बहादुर थापाले जनचेतनाका कार्यक्रम बढाउनुपर्ने विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् । ग्यास प्रयोगको सुरक्षाबारे कार्यक्रम अगाडि बढाउन बजेटको व्यवस्था गर्न उनीहरुले अर्थमन्त्रीलाई भनेका छन् । त्यसैगरी कोभिड, आर्थिक मन्दी लगायतका कारण समस्यामा परेका व्यवसायीलाई जरिवाना नलिई पुनः एक आर्थिक वर्ष म्याद दिएर नविकरण गर्ने व्यवस्था मिलाइदिन अर्थमन्त्रीलाई भनेका छन् । ग्याससम्बन्धी कानुन ल्याएर देशैभर यसको व्यवस्थापन गर्न, अन्जानबस राजश्वको मिक्सम्याचमा पर्न गएका व्यवसायीलाई जरिवाना नलिइकन सल्टाउन पुनः एकपटक अवसर दिन, ग्यास बिक्रेतालाई कम्तिमा ५ प्रतिशत मुनाफाको व्यवस्था मिलाईदिन, रोजगारीका लागि युवाहरु विदेशिँदा देशै खाली भएर खरिदकर्ता नै नरहने अवस्था बढेर उद्योग व्यवसाय नै धरासायी हुनसक्नेतर्फ बिक्रेताहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ ग्यास बिक्रेता महासंघले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलललाई बुझाएको पत्रः

माननीय अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेल ज्यू, नेपाल सरकार, अर्थमन्त्रालय सिंहदरबार, काठमाडौं ।

विषय : ग्यास बिक्रेताका समस्या र समाधानका उपायबारे ।

महोदय,

सर्वप्रथम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अर्थमन्त्रीको रुपमा अर्थतन्त्रका बारेमा जानकार र समन्वयकारी भूमिका निभाउन सक्ने व्यक्तिको रुपमा पाउँदा हामी गौरवान्वित भएका छौं । मुलुकको अर्थतन्त्र अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिएको बेला तपाईको नेतृत्वले आशा र हौसला थपेको छ ।

पछिल्लो समय मुलुकको अर्थतन्त्र मन्दीमा छ। मन्दीका कारण हरेक उद्योग व्यवसाय समस्यामा छन् । तरलता अभाव र विगतमा भएको चर्को व्याजका कारण उद्योगधन्दा चौपट छ भने उद्योगी व्यवसायीको मनोबल गिरेको अवस्था छ । वर्तमान मुलुकको कमजोर अर्थतन्त्रका बारेमा तपाईँ जानकार रहेकै कारण समाधानका लागि आवश्यक काम गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

हाम्रो अर्थतन्त्रमा निराशाजनक अंकहरु छन् । ती निराशाजनक अंकहरुलाई सुधार गर्न कन्फिडेन्स चाहिएको थियो । त्यो कन्फिडेन्स तपाईँ आउने वित्तिकै उद्योगी व्यवसायीहरुमा उत्साह थपेको छ। अब पक्कै पनि अर्थतन्त्रका निराशाजनक अंकहरु सुधार हुने अपेक्षा हामीले राखेका छौं ।

माननीय अर्थमन्त्री ज्यू,

अर्थतन्त्रसँगै हामीले केही हाम्रा मुद्दाका बारेमा पनि हजुरलाई अवगत गराउन चाहेका छौं। ग्यास विक्रेता महासंघ नेपाल झण्डै १६ वर्ष अघि स्थापना भएको संस्था हो । हामीले बोटलिङ्ग प्लान्टबाट रिफिल भएर आएको ग्यासलाई उपभोक्ताको भान्छासम्म पुऱ्याएर सेवा दिँदै आएका छौं। झण्डै ६० वटा ग्यास बोटलिङ्ग प्लान्ट छ भने त्यसमा आश्रित १२ हजार ग्यास बिक्रेता छन् । स्वरोजगारका माध्यमबाट देशका विभिन्न ठाउँमा रहेर इन्धन प्रयोगमा बढावा दिने बिक्रेताले गर्दै आएका छन् । महासंघले आफ्‌ना सदस्यको हकहित मात्रै होइन, उपभोक्ताको सुरक्षालाई पनि प्राथमिकता राख्दै आएको छ। त्यही भएर महासंघले ग्यासको सुरक्षित प्रयोगका लागि जनचेतनाको अभियान पनि संचालन गर्दै आएका छौं । हामीले स्थानीय निकाय, प्रदेश, संघसँग सहकार्य गरेर जनचेतनाका कार्यक्रम गर्दै आएका छौं । यसलाई अझै वृहत्तर रुपमा अगाडि बढाउन आवश्यक देखेका छौं। हामीले केही मुद्दाहरु यहाँ राख्न चाहेका छौं।

१. ग्यासको असुरक्षित प्रयोगले दुर्घटनासँगै ठूलो जनधनको क्षति हुने गरेकोले यसको सुरक्षित प्रयोगका लागि बजेटमै निश्चित कार्यक्रम ल्याउनका लागि अनुरोध गर्दछौं ।

२. विगतमा कोभिड आर्थिक मन्दी जस्ता कारण धेरै व्यवसायी समस्यामा परेका छन् । ती व्यवसायीहरुलाई जरिवाना नलिई पुनः एक आर्थिक वर्ष म्याद दिएर नविकरण गर्ने व्यवस्था मिलाइदिनुहन अनुरोध गर्दछौं ।

३. ग्यासको कारोबार अर्बौंको छ। यो देशका कुनाकाप्चामा पुगिसकेको भएपनि कानुनको भने अभाव छ। त्यसैले पेट्रोलियम र ग्यासँग सम्बन्धीत कानुन ल्याएर यसलाई व्यवस्थित बनाउन आग्रह गर्दछौं ।

४. अहिले पनि ग्यास विक्रेता महासंघले स–साना व्यवसायीको क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको छ । महासंघले आफ्‌नो आर्थिक क्षमताले भ्याएसम्म जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ। तर यसलाई दिगो रुपमा लैजान कठिन भइरहेको छ । यो अभियानलाई दिगो बनाएर लैजान अर्थमन्त्रालयबाट पनि सहकार्य हुने अपेक्षा हामीले राखेका छौं ।

५. व्यापारको परिमाण बढी हुने तर मुनाफा भने सरकारबाटै तोकिए अनुरुप अत्यन्तै कम हुने ग्यास कारोबारमा केही ग्यास व्यवसायीहरु अन्जानवस राजश्वको मिक्सम्याचमा पर्न गएको हुँदा यसलाई जरिवाना नलिइकन सल्टाउन पुनः एकपटक अवसर दिनको लागि अनुरोध गर्दछौं ।

६. प्रज्वलनशील पदार्थ ग्यास कारोबारलाई व्यवस्थित गर्नको लागि स्थानीय निकाय मार्फत कार्यान्वयनमा आउने गरी ग्यास बिक्रेता तथा वितरकहरु प्रमाणीकरण कार्यको कार्यविधि, बनाइ तत्काल कार्यान्वयनमा ल्याउन आवश्यक देखिएको हुँदा सो कार्य सरकारबाटै गरिदिनु अनुरोध गर्दछौं ।

७. ग्यास कारोबारको परिमाण ठूलो हुने तर सरकारबाटै तोकिएको मूल्यमा अत्यन्त न्यून मुनाफामा कारोबार हुने हुँदा यस कारोबारको लागि कम्तिमा २ करोड वा सो सरहको थ्रेसहोल्ड कायम गरिदिन अनुरोध गर्दछौं ।

८. ग्यास कारोबारमा लगानी बढी, संचालन खर्चहरु बढी अनि मुनाफा अत्यन्त न्यून भएको कारण ग्यास उद्योगी, वितरक र विक्रेताको कमिसन समय सापेक्ष रुपमा बढाइदिन अनुरोध गर्दछौं । विक्रेताको हकमा ग्यासको मूल्यको कम्तिमा ५ प्रतिशत हुने गरी व्यवस्था मिलाई व्यवसायलाई निरन्तरता दिन र व्यवसायबाट आत्मनिर्भर बनाइदिन अनुरोध गर्दछौ ।

९. पछिल्ला दिनहरुमा राजनीतिक दलहरुबीचको बेमेलका कारण उत्पन्न निराशा र रोजगारी तथा अध्ययनको लागि युवाहरु विदेशिने क्रम बढ्दा गाउँघर खाली जस्तै भैसकेको अवस्था छ । यसको असर सहरमा पनि पर्न थालेको छ । जसबाट भोलिका दिनहरुमा उद्योग र व्यवसाय चाहीँ हुने तर खरिदकर्ता नहुने हुन जादा मुलुकको अर्थतन्त्र थप जटिल हुने हुन सक्छ । तसर्थ राजनीतिक स्थायीत्व संगै स्वदेशमै रोजगारी र स्वदेशमै अध्ययनको व्यवस्था मिलाउन नेपाल सरकार माननीय अर्थमन्त्री ज्यूसँग अनुरोध गर्दछौं ।

अन्त्यमा, सरकारको मौद्रिक नीतिबाट मुलुकको उद्योगी व्यवसायीमा महत्वपूर्ण भूमिका रहने हुँदा मौद्रिक नीति साना ठूला सबै व्यवसायीले काम गर्न सक्ने गरी आउनेमा आशावादी हुँदै माननीय अर्थमन्त्रीज्यूको कार्यकालको सफलताको कामना गर्दछौं । हामी विगतको जस्तै ग्यास कारोबारमा सरकारसँग हातेमालो गर्दै उपभोक्ताप्रति जिम्मेवार भएर काम गर्ने प्रतिवद्धता समेत गर्दछौं । धन्यवाद ।

Health Tips Ad Road Block