काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न छ उद्योगमा काटेको बिजुली जोडिदिएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले सर्तसहित विद्युत लाइन जडान गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णयअनुसार तीन महिनाभित्रमा उद्योगीहरुले बक्यौता भुक्तानी नगरेमा पुनः बक्यौता असुलउपर गर्न कारबाही प्रक्रिया अगाडि बढाउने गरी उद्योगहरुको विद्युत लाइन जडान गर्ने निर्णय गरेको हो ।
विद्युत महसुलको बक्यौता नतिरेपछि प्राधिकरणले गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटेको थियो ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नियमअनुसार विद्युत बक्यौता उठाइने बताएका छन् । सामाजिक सञ्चालमार्फत प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नियम अनुसार विद्युत बक्यौता उठाइने छ । हामीलाई उद्योगहरुबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ । यस विषयमा सरकार र विद्युत प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन।अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगहरूमा काटिएको विद्युत लाइन अहिले जोडिएको छ।’