काठमाडौं । विश्व चर्चित जापानिज ब्राण्ड योकोहामा टायर नेपालमा भित्र्याइएको छ । शुक्रबार एक कार्यक्रमकाबीच नेपालका लागि आधिकारिक बिक्रेता अटो पार्ट्स इन्टरनेशनल (एपीआई) ले जापानी कम्पनी योकोहामाका टायर नेपाल भित्र्याएको घोषणा गरेको हो ।
कार्यक्रममा योकोहामा नेपालका लागि कन्ट्री हेड रविन जेकवले १०७ वर्षको इतिहास बोकेको योकोहामाका टायर नेपाल भित्र्याएर १२१ देशमा यी उत्पादनहरु पुग्न सफल भएको बताए । उनले छ वर्षको वारेन्टीसहित योकोहामाका टायर उपलब्ध हुने जानकारी दिए । यसैगरी मार्केटिङ म्यानेजर परमजित सिंहले योकोहामाका टायर नेपालको भूगोल सुहाउँदो रहेको भन्दै जुनसुकै किसिमको सडकका लागि यी टायर उपयुक्त रहेको दाबी गरे ।
योकोहामा टायरका आधिकारिक वितरक एपीआईका प्रबन्ध निर्देशक सगुन वीर सिंह कंसाकारले नेपालमा योकोहामा भित्र्याउनुको उद्देश्य विश्वस्तरीय एवं गुणस्तरीय ब्राण्डसँगको साझेदारी भएको बताए । प्रबन्ध निर्देशक कंसाकारले बजारमा उपलब्ध टायरहरुमध्ये सबैभन्दा धेरै ५ वर्षको वारेन्टी, राम्रो ब्राण्ड, उच्च तहको प्रोफिट मार्जिन (१६ प्रतिशत), कम्पनीले नै मार्केटिङ गरिदिने, विश्वस्तरीय प्रोडक्ट लगायतका विशेषताका कारण योकोहामा सबैको रोजाईमा पर्ने दाबी गरे । कंसाकारले कम्पनीले उपभोक्ताहरूलाई गुणस्तरीय टायर उपलब्ध गराउने र नेपालको अटो क्षेत्रसँगै आर्थिक विकासमा यसको योगदान महत्वपूर्ण रहने बताए ।
एपिआईका बजार व्यवस्थापक सुरेश श्रेष्ठले एपिआईले गर्ने कार्यबारे जानकारी दिँदै योकोहामासँगको साझेदारीले उत्साह बढाएको बताए । नेपालमा एपिआइले १२ सय डिलरमार्फत आफ्नो उत्कृष्ट सेवा सेवा दिने उनले जानकारी गराए ।
सन् १९१७ मा स्थापना भएको र जापानको टोकियोमा मुख्य कार्यालय रहेको कम्पनीले उत्कृष्ट टायर बनाउनुका साथै डिजाइन र प्रविधिमा जोड दिँदै विश्वभर गुणस्तरीय टायर उपलब्ध गराउँदै आएको छ ।