skip this News Page Tips Ad Road Block

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चौथोपटक विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते बागमती प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । संघ सरकारमा जस्तै नेपाली कांग्रेस र नेकपा (एमाले) को पालैपालो समर्थन पाएर सरकार विस्तार गर्दै मुख्यमन्त्रीमा निरन्तरता दिँदै आएका जम्कट्टेलले प्रदेश सभाबाट चौथोपटक विश्वासको मत लिन लागेका हुन् । संघीय सरकारमा दुई ठूला कांग्रेस र एमाले मिलेसँगै जम्कट्टेलको सरकारसमेत अल्पमतमा परेपछि जम्कट्टेलले विश्वासको मत लिनुपरेको हो । सत्ता गठबन्धनमा रहेको एमाले बागमती प्रदेश संसदीय दलले असार २४ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका हुन् । एमालेका पाँच जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका थिए ।

विश्वासको मत दिने प्रयोजनका लागि बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको छ । प्रदेश सभा सचिवालयका अनुसार साउन ६ गते आइतबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको छ ।

१३ वटा मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा हाल नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्रीसहित चार मन्त्री, नेकपा (एकीकृत समाजवादी) का तीन र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेललाई नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको मात्र साथ रहेको छ । सरकारमा रहेका दलहरू माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको सात र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य छन् । प्रदेश सभाबाट गत चैतमा मुख्यमन्त्रीले ५६ जना प्रदेश सभा सदस्यको समर्थन प्राप्त गरेका थिए ।

२०७९ पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले यसअघि २०७९ माघ ३ गते, २०७९ चैत १० गते र गत चैत १९ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

Health Tips Ad Road Block