काठमाडौं । नेपालको पहिलो मनकामना केबलकार ५० दिनको लागि बन्द भएको छ । नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले असार ३१ गते सोमबारदेखि लागु हुने गरी ५० दिनको लागि बन्द गर्नु परेको मनकामना केबलकार संचालक मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
कम्पनीका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठा समेत फेर्ने कार्य हुने भएकाले असार ३१ गते देखि भदौ २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको हो । मनकामना केबलकारले एक महिना अगाडिदेखि नै सूचना जारी गरी केबलकार बन्द हुने जनाएको थियो । यसबाट यात्रुप्रति हुने असुविधाका लागि कम्पनीले क्षमा याचना गरेको छ ।
वि.सं.२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटबाटै दर्शन गर्न जान मिल्नेगरी दर्शनर्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालनमा ल्याइएको थियो ।