काठमाडौं । एफएओको मुख्यालय इटालीको रोममा भएको विश्व भरका किसानहरुको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ) को सञ्चालकमा नेपालका खेम बहादुर पाठक निर्वाचित भएका छन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् । गरिबी निवारण, साना किसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधार सहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय खेम बहादुर पाठक इटालीको रोममा भएको विश्व किसान संगठनको महासभा २०२४ को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।
पाठकसहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका छन् । विश्वभरका सक्रिय किसान संघ संगठनहरुको छाता संगठनका रुपमा रहेको विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् । किसान र कृषि क्षेत्रको रुपान्तणका क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्च तह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनु आफंैमा खुसी र गौरवको कुरा भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले जनाएको छ ।
डब्लुएफओको महासभाको निर्वाचनको यो परिणामले नेपालको सहकारी अभियान, साना किसान विकास अभियान परिवार, सरोकारवालाहरु, किसानहरु, सहकारी अभियन्ता, तथा सम्पूर्ण नेपालीहरुलाई अन्यन्तै हर्षित र गौरवान्वित बनाएको छ ।
धादिङ्ग जिल्लाको विकट गाउँबाट निरन्तर सहकारी अभियानमा संलग्न खेम बहादुर पाठक, गाउँ, गाविस, साना किसान विकास आयोजना, साना किसान कृषि सहकारी संस्थाको अध्यक्ष, जिल्ला संघ, हुँदै साना किसान विकास बैंकको संचालक समितिको सदस्य, नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्ष, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्ष, राष्ट्रिय सहकारी महासंघको उपाध्यक्षको भूमीकामा रहँदै आएका छन् ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था र सम्पूर्ण साना किसान अभियानलाई सशस्त्र द्धन्दकाल, राजनीतिक अस्थिरता तथा विभिन्न कठिन अवस्थाबाट जोगाउँदै आज यो अवस्थामा ल्याउन पाठकको महत्वपूर्ण योगदान रहेको छ ।