skip this News Page Tips Ad Road Block

नेपालमा ५ सय र एक हजारको नोटमा प्रतिबन्ध लगाउने किन ?

काठमाडौं । नेपालमा ५ सय र १ हजारको नोटमा तत्काल प्रतिबन्ध लगाउनुपर्ने कुरा उठेको छ । संसद् बैठकमा यस विषयमा कुरा उठेको हो ।

प्रतिनिधिसभाको बैठकमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका हुन् । गुरुङले नोटमा प्रतिबन्ध लगाउने कुरा मात्रै गरेनन्, प्रतिबन्ध लाउनुपर्ने कारण पनि खुलाए ।

गुरुङले नोट प्रतिबन्ध लगाउनुपर्ने विषयबारे भने, ‘मुलुकमा आर्थिक सुशासन कायम गर्नका लागि ५ सय र हजारको नोट क्विट गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरुलाई म निवेदन गर्न चाहन्छु।’

उनले थप्दै भने, ‘यदि ५ सय र हजारको नोट क्विट गरेर जाने हो भने ८० प्रतिशत गैरकानुनी कारोबार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ ।’

उपसभापति गुरुङले त्यसपछि सिरानी मुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा बाहिर आउने दाबी गरेका छन् ।

त्यति भएपछि पैसा छैन भन्ने ठाउँबाट पैसा छ भन्ने ठाउँमा पुगिने उनको दाबी छ । गुरुङले अबैधरुपमा थुपारिएर रहेर बाहिर बसेको पैसा औपचारिक च्यानलमा आएपछि त्यसलाई विकासमा प्रयाेग गरेर अगाडि बढ्न सकिने बताए ।

Health Tips Ad Road Block