काठमाडौं । वर्षातले खोला तथा नदीमा पानीको बहाब बढ्न थालेपछि नेपालले दैनिक ४०० मेगावाट बिजुली भारत निर्यात गर्न थालेको छ । जलविद्युत् गृहबाट विद्युत् उत्पादन बढ्न थालेपछि भारतमा पुन विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । प्राधिकरणले देशभित्र खपत गरेर अतिरिक्त विद्युत् १४ जेठ रातिबाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्न सुरु गरेको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ४ सय मेगावाट हाराहारी बिजुली भारत निर्यात भइरहेको जानकारी दिएका छन् । घिसिङका अनुसार पिक समयमा नेपालभित्रको खपत २ हजार मेगावाट रहेको छ । आन्तरिक माग पूरा गरी अतिरिक्त १ हजारदेखि १२ सय मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौता बमोजिम यस वर्ष निर्यात गर्ने लक्ष्य राखिएको उनले बताएका छन् । निर्यात स्वीकृतिका लागि आयोजनाहरूको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरण समक्ष प्रस्ताव पठाइसकेको उनले जनाकारी दिएका छन् ।
द्विपक्षीय सम्झौता बमोजिम भारत बिहार राज्यलाई करिब २ सय मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४ सय मेगावाट हरियाणा राज्यलाई बिक्री गर्न एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले जानकारी दिए ।