skip this News Page Tips Ad Road Block

खिरको महत्व उजागर गर्दै काठमाडौंमा प्रवर्द्धन कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल डेरी एसोसिएसनको यसको महत्व उजागर गर्दै खिर प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ। नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षता एवं दुग्ध किसान राम प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालयका सह-सचिव जगन्नाथ तिवारी, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरे, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रतिनिधि नारायण देसार, पशु विभागका सुरेश गुरुङ ,दुग्ध विकास संस्थानका प्रतिनिधि, नार्कका प्रतिनिधि, राष्ट्रिय दुग्ध बिकास बोर्डका बोर्ड सदस्यहरू राजन दाहाल र रामभक्त दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू एवं डेरी एसोसिएसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ। आज प्रवर्द्धन गरिएको कार्यक्रममा नौ प्रकारका खिरहरू सेवन गराउने कार्य भयो भने बानेश्वरमा रहेको मौलिक भान्साघरमै १५ गते पनि नौ प्रकारका खिरहरू लगाउने र आवश्यक पर्दा होम डेलिभरी पनि गरिने व्यवस्था रहेको कुरा मौलिक भान्छा घरका प्रबन्ध निर्देशक सुमन दाहालले जानकारी गराए ।

कार्यक्रममा बोल्ने क्रममा मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीले कार्यक्रमप्रति विशेष धन्यवाद दिँदै मन्त्रालयले कृषि क्षेत्रको विकासको लागि समग्र काम गरिरहेको र आवश्यक सरसल्लाहमा थप काम गर्ने बताए। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले महासंघ एसोसिएसनले गरेका हरेक क्रियाकलापमा सहभागी हुँदै साथ दिइरहेको कुरा जानकारी गराए । राष्ट्रिय दुग्ध विकास बोर्ड र पशु सेवा विभाग एवं सम्बन्धित सबै वक्ताहरुले नेपाल डेरी एसोसिएसनले गरेका हरेक क्रियाकलापहरूको प्रशंसा गर्दै साथ दिने  बताए । साना तथा घरेलु उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङले नेपाल डेरी एसोसिएसनले चलाएको मही अभियानको प्रशंसा गर्दै गुणस्तरमा ध्यान दिन आग्रह गरिन्। त्यसैगरी निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द घिमिरेले छुर्पी घिउ लगायतका वस्तुहरु विदेश निर्यात हुने कुरामा महासंघले भूमिका खेल्ने कुरा बताए।

प्रमुख अतिथि दुग्ध किसान रामप्रसाद घिमिरेले आफूलाई गोठमा काम गर्दागर्दै प्रमुख अतिथि बनाएकोमा अत्यन्तै खुसी भएको, एसोसिएसनले किसान प्रतिको सम्मान देखाएकोमा आफू अत्यन्तै खुसी भएको र यो सम्मान समग्र किसानको भएको कुरा बताए ।

कार्यक्रममा काठमाडौँ इङ्लिस स्कुलका सानासाना नानीहरूलाई खिर खुवाई कार्यक्रमको समुद्घाटन गरिएको थियो।

नेपाल डेरी एसोसिएसनले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा साउन १५ मा खिर खाने परम्पराले दूध तथा दुग्धजन्य पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले ठूलो आर्थिक कारोबार हुने जनाएको हो।

एसोसिएसनका अनुसार यस वर्ष साउन १५ का दिन देशभर करिब १ करोड लिटर दूध खपत हुने अनुमान गरिएको छ। उक्त परिमाणको दूध तथा त्यससँग सम्बन्धित दुग्धजन्य सामग्रीको प्रयोगबाट १ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने विश्वास गरिएको छ। यसले दूध उत्पादक किसान, डेरी उद्योग, स्थानीय उत्पादन तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने एसोसिएसनको भनाइ छ।

राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गतेको निर्णय अनुसार हरेक वर्ष साउन १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाउने परम्परा रहँदै आएको छ। यस वर्ष पनि नेपाल डेरी एसोसिएसनले “खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान” भन्ने नारासहित विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ।

एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार साउन १५ मा काठमाडौंको नयाँ बानेश्वरस्थित मौलिक भान्छाघरको सहकार्यमा खिर प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा उद्योगी, व्यवसायी, कलाकार, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । साथै एसोसिएसनका प्रदेश तथा जिल्ला समितिहरूले पनि आ–आफ्नो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्।

नेपाल कृषि प्रधान देश भएकाले असारभरि धान रोपाइँमा व्यस्त किसानले साउन १५ लाई परिवार, आफन्त र समुदायसँग खुसी साटासाट गर्ने अवसरका रूपमा मनाउने परम्परा रहेको एसोसिएसनले जनाएको छ। खिर खाने संस्कृतिले किसानको श्रमको सम्मान, पारिवारिक एकता तथा नेपाली मौलिक संस्कृतिको संरक्षणको सन्देश दिने विश्वास गरिएको छ।

दूध, चामल, चिनी वा गुड, घिउ तथा सुक्खा फलफूलबाट तयार हुने खिर नेपाली समाजमा धार्मिक, सांस्कृतिक र पारिवारिक जीवनसँग गहिरो रूपमा जोडिएको परिकार मानिन्छ। पोषणका हिसाबले पनि खिरले शरीरलाई आवश्यक ऊर्जा, प्रोटिन, क्याल्सियम, भिटामिन तथा खनिज तत्त्व उपलब्ध गराउने भएकाले यसको महत्व उच्च रहेको एसोसिएसनले उल्लेख गरेको छ।

एसोसिएसनका अनुसार राष्ट्रिय खिर दिवसले नेपाली मौलिक खानाको संरक्षण, दुग्धजन्य पदार्थको उपभोग वृद्धि, किसानको सम्मान, डेरी उद्योगको सुदृढीकरण तथा स्थानीय कृषि उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने अवसर प्रदान गर्दछ। पछिल्ला वर्षहरूमा दूध उत्पादन वृद्धि भए पनि बजार विस्तार चुनौती बनेको अवस्थामा यस्ता अभियानले स्वदेशी दुग्ध उत्पादनको खपत बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डेरी क्षेत्रका सरोकारवालाहरूले साउन १५ लाई केवल सांस्कृतिक पर्वका रूपमा नभई दूध उत्पादक किसान र डेरी उद्योगको आर्थिक सशक्तीकरणसँग जोडिएको अवसरका रूपमा समेत लिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार खिर दिवसले स्वदेशी दूधको प्रयोग बढाउँदै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

Health Tips Ad Road Block