skip this News Page Tips Ad Road Block

नेपाल पर्यटन बोर्डद्धारा निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई स्वागत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँच जना कार्यकारी समितिका सदस्यहरुलाई बोर्डमा स्वागत गरिएको हो ।

यससँगै बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले बोर्ड स्थापनाको उद्देश्य, नीति तथा कार्यक्रम तथा हालसम्मका प्रमुख उपलब्धिबारे विस्तृत जानकारी गराएका छन् । स्वागत कार्यक्रममा बोर्ड र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउँदै पर्यटन प्रवर्द्धनलाई परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । कार्यक्रममा निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डले गत आर्थिक वर्षमा सम्पन्‍न कार्यक्रमहरु, बोर्डको संरचना, अवसर र चुनौतीबारे समेत नवनियुक्त सदस्यहरुलाई जानकारी गराएका हुन् । उनले नेपाल आरोग्य वर्ष २०२७ लाई सफल बनाउन बोर्डले काम गरिरहेको विषयमा पनि जानकारी गराएका हुन् ।

नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले आगामी दिनमा नेपालको पर्यटन प्रवर्द्धनका लागि सबै पक्षसँग सहकार्य गर्दै नयाँ सोच र कार्यशैलीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको पर्यटनमा निजी क्षेत्र महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै हाल देखिएका अवरोध हटाएर समस्या समाधान गर्दै उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालनमा विशेष जोड दिए ।

त्यसैगरी बोर्ड सदस्य सिर्जना केसीले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले तथ्यमा आधारित नीति निर्माणका लागि अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

बोर्ड सदस्य सहदेव धमलाले निजी क्षेत्रका समस्या समाधानमा बोर्डले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी आर्थिक वर्षको बजेट तीन ‘पी’ अर्थात् पर्यटन क्षेत्रको संरक्षण (प्रोटेक्सन), संवर्द्धन (प्रिजर्भेसन) र प्रवर्द्धन (प्रमोसन) मा केन्द्रित हुनुपर्ने धारणा राखे । त्यसैगरी बोर्ड सदस्य पेम्बा शेर्पाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै बोर्डका प्राथमिकताका कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

बोर्ड सदस्य डा. सोविता श्रेष्ठ ढकालले दिगो पर्यटन विकासका लागि गुणस्तर, अनुसन्धान र सुशासनलाई केन्द्रमा राखेर नीति तर्जुमा गर्दै प्रभावकारी व्यवस्थापन र सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले पर्यटनको गुणस्तर अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमता थप मजबुत बनाउन बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखिन् ।

स्वागत कार्यक्रमका क्रममा बोर्डका पदाधिकारी र नवनियुक्त बोर्ड सदस्यहरूको सक्रिय सहभागिता र निजी क्षेत्रसँगको सहकार्यमार्फत नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ र प्रतिस्पर्धी बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

Health Tips Ad Road Block