भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आजबाट चितवन सदरमुकाम भरतपुरमा सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन समारोहका लागि भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम निर्माण गरिएको छ । करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा उक्त डोम निर्माण गरिएको छ ।
यस्तै रास्वपाको ब्यानर, प्लेकार्ड र तोरणले भरतपुरलाई सजाइएको छ । प्रतिनिधिहरूलाई स्वागत गर्न ठाउँ ठाउँमा स्वागत गेट निर्माण गरिएका छन् । महाधिवेशनमा भाग लिन देशविदेशका प्रतिनिधि भरतपुर आइरहेका छन् ।
महाधिवेशनका लागि पार्टी सभापति रवि लामिछानेलगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्य यतिबेला चितवनमा रहेका छन् ।
आज दिउँसो २ बजे प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन उद्घाटन कार्यक्रममा राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरूलाई आमन्त्रण गरिएको छ ।
देशविदेशका शीर्ष नेता पनि महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
महाधिवेशनमा ट्राफिक व्यवस्थापनको अनुगमन र सहज बनाउन ड्रोनद्वारा अनुगमन गरिने जनाइएको छ ।
बन्दसत्र गरिने स्थल उद्योग सङ्घ चितवनको प्रदर्शनी कक्ष रहेको छ । रास्वपाको महाधिवेशनमा विद्युतीय प्रणालीमार्फत मतदान गराइने पार्टीले जनाएको छ ।





















