skip this News Page Tips Ad Road Block

आगामी आवका लागि काठमाडौँ महानगरको २५ अर्ब ८८ करोडको बजेट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । आर्थिक वर्ष आर्थिक वर्ष २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । नगर सभाको १९ औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले सञ्चित कोषमा व्ययभार पर्ने २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ र वाह्य व्ययभार हुने ७५ करोड रुपैयाँ गरी २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

सञ्चित कोषमा जम्मा हुने रकममध्ये आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ । ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान अनुमान गरिएको छ । जनसहभागिता वापत १ करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ ।

क्षेत्रगत रुपमा बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रुपैयाँ, सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रुपैयाँ प्रस्तावित छ । सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।

यसरी हेर्दा, वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड रुपैयाँ, शिक्षा तर्फ १ अर्ब ७१ करोड रुपैयाँ, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड रुपैयाँ, सामाजिक विकासमा ४९ करोड रुपैयाँ, पूर्वाधार विकासमा ५ अर्ब ४१ करोड रुपैयाँ, हरियाली प्रवद्र्धन गर्न ४३ करोड रुपैयाँ, सूचना प्रविधि तर्फ ४१ करोड रुपैयाँ, स्वास्थ्य सेवातर्फ ७० करोड रुपैयाँ र विपद् व्यवस्थापनका लागि ३६ करोड विनियोजन सभामा प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षमा पूर्वाधार योजना, फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखिएको छ । प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही, ननी लगायतका सम्पदा स्थलहरुको संरक्षण कार्य एवम् मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धनमा समेत आवश्यक बजेट व्यवस्थापन गरिएको प्रस्तावमा उल्लेख छ ।

युवा केन्द्रीत स्वरोजगार कार्यक्रम सञ्चालन गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ । नवयुवा सहकार्य र कमाउँदै पढ्दै वा सिक्दै कार्यक्रम, जेन्जी सहिद तथा अमर प्रहरीको नामावली सहितको स्मारक निर्माण गर्न बजेट व्यवस्था गरिएको छ ।

अपाङ्गता भएका व्यक्ति, अशक्त तथा उमेरको कारण हिड्डुल गर्न नसक्ने महानगरवासीका लागि सम्बन्धित निकायसँग समन्वय गरी घरघर मै नागरिकता र राष्ट्रिय परिचय पत्र उपलब्ध गराउनबजेटको व्यवस्था गरिएको छ । महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बहालमा लिए दिएको घरजग्गाको विवरण दर्ता प्रक्रियालाई सरल र सहज बनाउने कार्यक्रम, एकीकृत करदाता परिचय पत्र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । करदातालाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । महानगरबासीहरुले मालपोत तथा नापी कार्यालयबाट प्राप्त गरी आएका भूमि व्यवस्थापन सेवा स्थानीय स्तरबाटै उपलव्ध गराउने प्रबन्ध मिलाइएको छ ।

सामूहिक आवास निर्माणको लागि बहुवर्षीय योजना अन्तर्गत निर्माणको पहिलो वर्षको लागि ५ करोड विनियोजन गरिएको छ ।

महानगर अस्पताल निर्माणको बहुवर्षीय योजना अन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक निमोनिया खोपका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । क्यान्सर जस्ता जटिल रोगहरुको निदानको लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट प्रस्ताव गरिएको छ । एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ । निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

स्वनिगः विश्वविद्यालय स्थापनाको लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्य प्रारम्भ गर्न ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका निजी तथा सार्वजनिक भौतिक संरचनाहरुको बिमा प्रवर्धन कार्यक्रम सञ्चालन गर्न, नगर–नगर साझेदारी कार्यक्रम गर्न बजेटको प्रस्ताव गरिएको छ ।

रात्रिकालीन यातायात सेवा सञ्चालनलाई निरन्तरता दिन, पिउने पानीको लागि वाटर एटीएम र आवश्यक स्थानमा सार्वजनिक शौचालय व्यवस्थापन, पशु वधशाला निर्माण गर्न तथा एग्रो पुलिङका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट प्रस्ताव गरिएको छ ।

काठमाडौँमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल आयोजना गर्नको लागि बजेट विनियोजन प्रस्ताव गरिएको छ । बागमती प्रदेश सरकारसँग समन्वय गरी काठमाडौँ महानगरपालिकालाई सांस्कृतिक सहर घोषणा गर्ने कार्यक्रम प्रस्तावमा छ ।

विपद व्यवस्थापन कार्यलाई थप प्रभावकारी एवम् साधन स्रोत सम्पन्न गराउन, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३, बढ्दो तापक्रमको प्रभाव न्यूनीकरण कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्ताव गरिएको छ । नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण गर्न तथा पार्क निर्माण गर्न, चराचुरुङ्गीका लागि पानीपात्र निर्माण गर्न बजेटको प्रस्तावमा छ ।

प्लाष्टिक झोलामुक्त काठमाडौँको लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न नगर सभामा प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि काठमाडौँ महानगरपालिकाले आन्तरिक आयतर्फ निर्धारित लक्ष्य अनुसारको प्रगति हासिल गर्न तथा राजस्व असुलीलाई प्रभावकारी वनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदातालाई व्यवसाय/कारोवारस्थलमा नै गएर समन्वय तथा सहजीकरण गर्ने कार्यलाई प्राथमिकतामा राख्ने प्रस्ताव छ ।

करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर वुझाउने करदातालाई १० प्रतिशत छुट दिने, असोज मसान्तभित्र बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा दिने कार्यक्रम सभामा पेश गरिएको छ । आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको बहाल आम्दानी वार्षिक २ लाख ४० हजार रुपैयाँभन्दा कम भएमा ५ प्रतिशत र सो भन्दा बढी बहाल आम्दानी हुने आवासीय प्रयोजनका लागि बहाल कर साविकको १० प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गर्ने प्रस्ताव छ ।

करप्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही शीर्षकमा सिफारिस दस्तुर निशुल्क गरिएको छ । कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञ सहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने, करदातालाई वस्तुगत संघहरुसँग आवद्ध गरी दायरा फराकिलो वनाउन प्रस्ताव गरिएको छ ।

काठमाडौँलाई स्वच्छ, सफा, हरियाली, सुरक्षित सांस्कृतिक र जीवन्त सहरको रुपमा विकास गर्ने मूल उद्देश्य साकार पार्नका क्षेत्रगत सहकार्य र समन्वयनका लागि सभामार्फत कार्यवाहक प्रमुख डंगोलले आग्रह गरिन् ।

बैठकमा उनले आर्थिक विधेयक र विनियोजन विधेयक समेत पेश गरेकी छन् ।

Health Tips Ad Road Block