काठमाडौं । नेपाल पश्मिना उद्योग संघद्वारा आयोजित पश्मिना ढाका डिजाइन बुनाइ तालिम सक्किएको छ । सोमबार काठमाडौंको हाँडीगाउँ, गहना पोखरीस्थित कार्यक्रम स्थलमा यसको समापन गरिएको हो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा तालिम कार्यक्रम गरिएको हो । तालिम कार्यक्रममार्फत ३० जनाभन्दा बढीले व्यवहारिक सिप हासिल गरेका छन् । १५ दिनसम्म सहभागीहरुले पश्मिना ढाका डिजाइन बुनाइ सिप सिकेका हुन् ।
तालिमको समापन कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यवाहक कार्यकारी निर्देशक नवीनराज शर्माले तथ्याँक प्रस्तुत गर्दै हाल ३ अर्ब ८० करोड रुपैयाँकाे पश्मिना निर्यात हुने गरेको जानकारी दिए । पश्मिनाको आन्तरिक तथा बाह्य माग बढ्दै गएको भन्दै उनले तालिम कार्यक्रमले उत्पादन बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । अहिले ५२ देशमा पश्मिनाका सामान निर्यात हुने गरेको जानकारी दिँदै उनले नेपाली पश्मिनाको सम्भावनै सम्भावना रहेको र मागसँगै बजार रहेको उल्लेख गरे । नयाँ नयाँ युवा पुस्तालाई आकर्षित गर्न, पश्मिना उत्पादन वृद्धिसँगै रोजगारी सिर्जना गर्ने हिसाबले तालिम कार्यक्रम गरिएको उनको भनाइ छ ।
समापन कार्यक्रममा आफ्ना भनाइ राख्दै नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धन प्रसाद लामिछानेले नयाँ नयाँ डिजाइनमार्फत प्रशिक्षार्थीहरुले अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने पश्मिना ढाका सामानकाे उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसमार्फत मुलुकको निर्यात बढाउने, रोजगारी सिर्जना गर्ने, नेपालको मौलिक परम्परालाई अगाडि बढाउन सहयाेग पुग्ने उनको धारणा छ । सिप नभएको मान्छे जिन्दगीमा काम नलाग्ने दृष्टान्त दिँदै उनले आफ्नो सिपलाई उद्यम, व्यवसाय विस्तारमा लगाउन सहभागीहरुलाई आग्रह गरे ।
तालिमकी कार्यक्रम संयोजक एवं पश्मिना उद्योग संघकी सचिव गीता श्रेष्ठले परम्परागत, सिप, शैलीभन्दा पृथक शैलीमा जानेतर्फ सोच्न आग्रह गर्दै तालिममार्फत सोही प्रकृतिको ज्ञान उपलब्ध गराएको बताइन् । सहभागीहरुले आफैंले नयाँ डिजाइन सिकेको भन्दै भोलिका दिनमा यसलाई निरन्तरता दिएमा सबै सफल हुनसक्ने उनको दाबी छ । यसमार्फत जिविकोपार्जनमा लैजाने नयाँ डिजाइन र अन्तर्राष्ट्रिय उपभाेक्ताको रुचिअनुरुप सामान बनाउनतर्फ ध्यान दिन उनले सबैलाई सुझाइन् । यस क्षेत्रमा धेरै सम्भावना रहेको र सिपको मूल्य पाइने उनको धारणा छ ।
तालिमका प्रशिक्षक रामलाल श्रेष्ठले विगतका कठिनाइबारे उल्लेख गर्दै तालिम कार्यक्रमलाई उद्यमशिलतामा बदल्ने अठोटका साथ अगाडि बढ्न सबैसमक्ष आग्रह गरे ।
तालिम कार्यक्रममा भृकुटी टेक्सटाइल हाँडीगाउँकी रत्न गुरुङले स्थानको सहयोग गरेकी थिइन् । प्रशिक्षार्थीहरु अनिता महत, विनिता गाौतम लगायतले आफूहरुले नयाँ नयाँ अवधारणाका साथ सिकेको सिपलाई आगामी दिनमा व्यवहारिकरुपमा अगाडि बढाउने धारणा राखेका थिए ।
संघका उपाध्यक्ष चिरञ्जीवी काफ्लेले संचालन गरेको कार्यक्रममा तालिम लिएका सबै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।





















