काठमाडौँ । आर्थिक वर्ष २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम ध्वनी मतका साथ पारित भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा राष्ट्रिय सभा गृहमा बसेको नगर सभाको १९ औँ अधिवेशनले ध्वनी मतका साथ नीति तथा कार्यक्रम पारित गरेको हो । हिजो अर्थात जेठ ३१ गते बसेको सभाको पहिलो बैठकमा कार्यवाहक प्रमुख डंगोलले, महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न नभएका वहुवर्षिय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति पेश गरेकी गरेकी थिइन् । उनले पेश गरेको नीतिमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक तथा आधुनिक सहरी सभ्यतालाई आधार मान्ने उल्लेख गरिएको छ ।
यो नीतिमा छलफल गर्दै आज नगर सभा सदस्यहरु आशामान संगत, सुमन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रोजिना श्रेष्ठ, हीरादेवी पोखरेल, रुपा थापा क्षेत्री, सन्तोष ढुङ्गेल, आशा श्रेष्ठ रौनियार, टेकराज अधिकारी, नविन मैनाली, हर्कबहादुर खाती, रत्नाकर बज्रचार्य, हरिबहादुुर बस्नेत, सरु अधिकारी, रामबाबु कोइराला, महेश नेपाली, सृष्टि कंसाकार र भगवान बुढाथोकीले सुझाव र संशोधन प्रस्ताव राखेका थिए ।
उनीहरुले पूर्वाधार विकास, सामाजिक विकास, विपद व्यवस्थापन, सहरी व्यवस्थापन, अनौपचारिक क्षेत्रको आर्थिक प्रणाली व्यवस्थापन, मानव तथा पशु कल्याण, तरल फोहर व्यवस्थापन प्रणालीको विकास, तीनकुने जग्गाको मुआब्जाको कार्यान्वयन, उपयोगका आधारमा भवनहरुको वर्गीकरण, समुदाय लक्षित कार्यक्रमहरुको संख्यात्मक वृद्धि, सहरी आचरण, सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन, भवनको अभिलेखन नियमित गर्नुपर्ने, डुवान समाधान, पार्किङ् समाधान, कालोपत्रे सडकमा पार्किङ् नीति, मूर्त अमूर्त सांस्कृतिक सम्पदा बचावटका थप प्रयास, प्राचीन बस्तीका घरहरुको मोहडालाई परम्परागत बनाउने कार्यक्रमको निरन्तरता लगायत विषयमा धारणा राखेका थिए ।
उनीहरुले राखेका धारणा, सुझाव र संशोधन प्रस्तावले महानगरपालिकाको आर्थिक तथा विनियोजन विधेयक तर्जुमा गर्न आधार हुने बताउँदै सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले सभामा राखिएका प्रस्तावहरुलाई कारणका आधारमा संशोधन गरिने प्रस्ताव राखेकी थिइन् । उनको प्रस्तावमा सबै सभा सदस्यहरुले हुन्छ भन्ने मत दिएका थिए । ‘मत दिन्न‘ र ‘तटस्थ बस्छु’ भन्नेमा कुनै पनि आवाज आएन ।
यस वर्षको नीतिमा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हित क्षेत्र समेटिएका छन् ।
आज पारित भएको नीतिका आधारमा आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा हुनेछ । यसरी तर्जुमा गरिने बजेट तथा कार्यक्रम नगर सभाको तेस्रो बैठकमा पेश हुनेछ । यसका लागि असार ४ गते दिउँसो ३ बजेका लागि समय तोकिएको छ ।





















