skip this News Page Tips Ad Road Block

देवानगञ्ज घटनामा ६ बुँदे सहमतिपछि मृतकको आज अन्त्येष्टि गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारको ६ बुँदे सहमति भएको छ। गृहमन्त्री सुधन गुरूङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता घटनास्थल पुगेर पीडित परिवारसँग छलफल गरेपछि सहमति भएको हो।

साउन १४ गते भएको सहमतिपत्रमा गृहमन्त्रालयका तर्फबाट गृहमन्त्री र मृतकका अभिभावकबीच हस्ताक्षर भएको छ। सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यस्तै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने, देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियतबारे तत्काल छानबिन गरिने र प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने सहमति भएको छ।

सहमतिपत्रमा घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने तथा मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने उल्लेख छ।

घटनापछि स्वास्थ्य मन्त्रीले सुरुदेखि नै समाधानका लागि सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनले गृह मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह र पीडित परिवारसँग निरन्तर समन्वय गर्दै वार्ताको वातावरण बनाएकी थिइन् । यसअघि दुवै मन्त्रीले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

सरकार र पीडित परिवारबीच सहमति भएपछि मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आज दिउँसो २ बजे अन्त्येष्टि गरिने भएको छ।

Health Tips Ad Road Block