skip this News Page Tips Ad Road Block

फ्लाई दुबईकाे दुबई-पोखरा र पोखरा-दुबई उडानका लागि टिकट बुकिङ खुला

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडानको तयारीमा रहेको विश्वको प्रतिष्ठित वायुसेवा कम्पनी फ्लाई दुबईले टिकट बुकिङ खुला गरेको छ । सेप्टेम्बर २३, २०२६ का लागि दुबई पोखराका लागि उडान FZ1165 र पोखरा दुबई उडानका लागि FZ1166 मा टिकट बुकिङ खुला गरेको हो ।

दुबई पोखरा उडानका लागि बिजनेस क्लासमा ५ हजार दिराम र इकोनोमी क्लासमा १९०० दिराम तथा पोखरा दुबई उडानको बिजनेस क्लासमा १ लाख ९० हजार र इकोनोमी क्लासमा ९१ हजार नेपाली रुपैयाँको टिकट पर्नेछ । दुबई पोखराको उडान ४ घण्टा ३० मिनेटको हुनेछ भने, पोखरा दुबईको उडान भने ५ घण्टा ३० मिनेटको हुनेछ ।
“२३ सेप्टेम्बरदेखि हामीले दुबई इन्टरनेशनलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान सञ्चालन गर्दैछौं । हामी संयुक्त अरब इमिरेट्सबाट यो नयाँ मार्गमा सेवा गर्ने पहिलो वाहक हुनेछौँ, जसले तपाईँलाई हिमालयको भूमिमा दोस्रो ठुलो शहर नेपालको पर्यटन राजधानीमा पहुँच प्रदान गर्दछ । तपाईँको अर्को साहसिक कार्यका लागि flydubai.com मा आफ्नो उडान बुक गर्नुहोस् ।” फ्लाई दुबईको फेसबुक पेजमा साझा गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गरिरहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खुसी व्यक्त गरेका छन् । “औपचारिक रूपमा पोखरा दुबई उडान समय तालिका सार्वजनिक भई बुकिङ खुला भएको छ । अब पोखराबाट दुबई र दुबईबाट पोखरासम्मको प्रत्यक्ष उडानका लागि बुकिङ सुरु भएको छ, उनले भनेका छन्, पोखरालाई अन्तर्राष्ट्रिय हवाई सम्पर्कसँग जोड्ने यस महत्त्वपूर्ण उपलब्धिका लागि सम्पूर्ण पोखरेली, सरोकारवाला निकाय तथा यस अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्नुहुने सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

यसले पोखरालाई दिगो रूपमा विश्व बजारसँग जोड्न महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास लिएका छन् ।

Health Tips Ad Road Block