काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सम्पन्न निर्वाचनबाट डिकबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । खत्रीले ३४७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि मेघनाथ भुर्तेलले १९२ मत र अर्का प्रत्यासी हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरे ।
निर्वाचन परिणामअनुसार प्रथम उपाध्यक्षमा महेश कुमार बस्नेत विजयी भए । उनले २४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धि कर्णराज कटुवालले २३१ मत प्राप्त गरे । द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मतसहित निर्वाचित भए भने तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल २५९ मतसहित विजयी भए ।
त्यसैगरी महासचिव पदमा हिरा बहादुर डाँगी (हरि) २७३ मतसहित निर्वाचित भए । सचिव पदमा केदारनाथ अधिकारी २९४ मत प्राप्त गर्दै विजयी भए भने कोषाध्यक्षमा धनमाया सिन्जाली ३२३ मतसहित निर्वाचित भइन् ।
यस्तै सदस्यहरुमा रमा खड्का, विवश ढुंगाना, ध्रुव जी.सी., तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गजुरेल, गीता राउत र दीक्षा दाहाल निर्वाचित भएका छन् । ।
खत्रीले नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र कांग्रेस निकट व्यवसायी समूहको संयुक्त प्यानल निर्माण गरेका थिए । त्यस्तै भुर्तेलले नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट प्यानल बनाएका थिए । अर्का अध्यक्षका उम्मेदवार पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट रहेर स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट प्यानल बनाई निर्वाचनमा होमिएका थिए ।
अधिकांश पदाधिकारी र सदस्यले राजिनामा दिएपछि निवर्तमान कार्यसमिति विघटन गरी अध्यक्ष भुवनसिंह गुरुङलाई कार्यकाल बाँकी रहँदै नेतृत्वबाट हटाएर संघकाको विशेष साधारणसभा तथा निर्वाचन गरिएको हो । नवनिर्वाचित अध्यक्ष डिकबहादुर खत्रीले व्यवसायीहरूको विश्वासलाई सम्मान गर्दै संघलाई एकताबद्ध बनाउने, व्यवसायीका समस्या समाधानका लागि सरकारसँग प्रभावकारी संवाद गर्ने तथा वैदेशिक रोजगार क्षेत्रको गरिमा र व्यवसायीको अधिकार संरक्षणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।





















