काठमाडौँ । नेपालको पहिलो महिला फ्रेन्चाईज भलिबल लिग एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण घोषणा गरिएको छ । सहभागी फ्रेन्चाईज टिम र सरोकारवालाहरुसँगको छलफलपछि तेस्रो संस्करण असोज दोस्रो सातादेखि सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।
तेसो संस्करण असोज ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुनेछ ।
नेपालीहरुको महान चाड दशैंको ठिक अगाडि नेपाली दर्शकहरुको लागि चाडपर्वको माहोल जस्तै एभरेष्ट महिला भलिबल लिगमार्फल भलिबलको माहोल पनि हुने विश्वास आयोजकको छ ।
कभर्डहलको स्तरोन्नति भईसकेको र अन्तर्राष्ट्रिय प्रतियोगिता काभा महिला भलिबल च्याम्पियनसिप लगायत राष्ट्रिय प्रतियोगिताहरु समेत भईसकेकोले यसपटक काठमाडौँमा आयोजना गर्ने निर्णय गरिएको हो ।
एसियाकै पहिलो महिला भलिबल भलिबल फ्रेन्चाईज लिगको रुपमा समेत रहेको लिगले नेपालको महिला भलिबलको विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसअघि दुई संस्करण भव्यरुपमा सम्पन्न भएपछि तेस्रो संस्करण अझ वृहत र परिष्कृत रुपमा सञ्चालन गर्ने तयारीमा रहेको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
यसअघि पहिलो संस्करण काठमाडौँमा आयोजना भएको थियो भने दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो । केही प्राविधिक कारणले बिचमा स्थगित भएकोले काठमाडौंमै दोस्रो संस्करणको बाँकी खेलसहित फाईनल सम्पन्न भएको थियो ।
कर्णाली यशविसले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो। दोस्रो संस्करणमा कर्णाली यशविसहित ललितपुर क्विन्स, काठमाडौँ स्पाईकर्स, मधेश युनाईटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए ।
एभरेष्ट महिला भलिबल लिगका टेक्निकल डिरेक्टर जगदपभ भट्टले तेस्रो संस्करण भव्य हुने बताए । उनले भने, ‘एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण गत वर्ष भन्दा अझ भव्य र उत्कृष्ट हुनेछ । किनभने नेपालको महिला भलिबल अहिले एफआईभिबी विश्व वरियतामा पनि समावेश छ, एसियाको शीर्ष दस वरियतामा पुगेको छ र जापानमा हुजे एसियन गेम्समा पनि छनोट भएको छ । यस पटक काठमाडौंमै लिग हुँदैछ। यो लिगले खेलाडीहरुले आर्थिक रुपमा पनि केही आर्जन गर्नेछन् । यसले गर्दा पनि यो लिगले नेपालको महिला भलिबल विकासमा ठूलो सहयोग पुग्छ ।’





















