काठमाडौं। चीनको शेन्जेनबाट हिमालय एयरलाइन्सको सिधा उडानमार्फत शुक्रबार १७५ जना चिनियाँ पर्यटक नेपाल आएका छन्। एक साताको नेपाल भ्रमणका लागि आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पाण्डा इन्टरनेशनल ट्राभल्सले नेपाली कला, संस्कृति झल्किने परम्परागत पोशाक र बाजागाजासहित भव्य स्वागत गरेको थियो।
नेपाल भ्रमणका क्रममा पर्यटकहरूले काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यले भरिपूर्ण विभिन्न पर्यटकीय गन्तव्य तथा धार्मिक स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यसैबीच, नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले हिमालय एयरलाइन्ससँगको सहकार्यमा चीनको शेन्जेन र नेपालको काठमाडौंलाई जोड्ने विशेष द्विसाप्ताहिक चार्टर्ड उडान सेवा सञ्चालनमा ल्याएको जनाएको छ। उक्त सेवा हरेक मंगलबार र शुक्रबार सञ्चालन हुनेछ।
कम्पनीका अनुसार २०८३ जेठ २२ गते (५ जुन २०२६) देखि सुरु भएको यो उडान सेवाले नेपाल–चीनबीचको हवाई सम्पर्क विस्तार गर्नुका साथै पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
चीनको प्रमुख आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेनबाट सिधा हवाई सेवा सञ्चालनमा आएपछि नेपालले उच्च खर्च गर्ने पर्यटक, व्यवसायी तथा प्रविधि क्षेत्रका पेशाकर्मीलाई आकर्षित गर्ने अवसर प्राप्त गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार नयाँ हवाई मार्गले नेपाली पर्यटन उद्योग, होटल व्यवसाय, हवाई सेवा तथा अन्य सेवा क्षेत्रको आर्थिक गतिविधि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, चिनियाँ पर्यटकको आगमन वृद्धिसँगै नेपाल भ्रमण वर्ष तथा पर्यटन प्रवर्द्धन अभियानलाई समेत थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।





















