काठमाडौं । तोकिएको समय भन्दा अगावै गुणस्तरीय निर्माण कार्य सम्पन्न गरी ख्याति कमाउँदै आएका मुलुकका स्थापित निर्माण व्यवसायी एवं नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेटी सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको तोकिएको समयभन्दा अगावै निर्माण कार्य पूरा गरे बापत सेटीलाई नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्मान गरेका हुन् ।
रोयल कन्स्ट्रक्सनका सञ्चालक प्रकाशबहादुर सेटीले बेलायत सरकारको सहयोगमा सञ्चालित एसजेपी कार्यक्रम अन्तर्गत यूएनओपीएसमार्फत प्रहरीका विभिन्न महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्रका भवनहरू तोकिएको समय भन्दा अगावै गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्दै आएका छन् ।
सेटीले यस अघि सुर्खेतको छिन्चुस्थित इलाका प्रहरी कार्यालय, कैलालीको मसुरियास्थित इलाका प्रहरी कार्यालय, कैलालीकै सती इलाका प्रहरी कार्यालय, बाँकेको वेतानी, कोहलपुर, गडुवा—दाङ, रूपन्देहीको इलाका प्रहरी कार्यालय बुटवल, पर्साको जिल्ला प्रहरी कार्यालय, सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालय, विराटनगरको इलाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय इनरुवा, सुनसरी लगायत विभिन्न स्थानमा गरी नौवटा भवनको निर्माण कार्य समयमै सम्पन्न गरेका थिए ।
सम्मान ग्रहण गर्दै महासंघका उपाध्यक्ष सेटीले सार्वजनिक पूर्वाधार निर्माणमा समय, गुणस्तर र व्यावसायिक प्रतिबद्धतालाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विगतमा पनि मुलुकका विभिन्न भागमा समयमै गुणस्तरीय निर्माण कार्य गरे बापत सेटी सम्मानित हुँदै आएका छन् । सफल व्यवसायिक निर्माण व्यवसायी बनेर धेरैका लागि प्रेरणाको स्रोत बनेका सेटी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।

















