काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, औद्योगिक प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने उद्देश्यका साथ ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । इलेक्ट्रो–टेकको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका छन् ।
नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो, प्रतिष्ठित तथा बहुप्रतिक्षित प्रदर्शनीको रूपमा स्थापित यस कार्यक्रम जेठ २५ गतेसम्म इलेक्ट्रो–टेक सञ्चालन हुनेछ ।
वि.सं. १९९६ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको फिन इलेक्ट्रो–टेक प्रदर्शनीले नेपालमा विद्युतीय व्यवसाय, ऊर्जा प्रविधि, औद्योगिक विकास तथा नवीनतम प्रविधिहरूको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको महासंघका अध्यक्ष दिलीप कुमार अग्रवालले बताएका छन् । विगत तीन दशकभन्दा बढी समयदेखि आयोजित यस प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, निर्माण व्यवसायी, परामर्शदाता, इन्जिनियर, प्राविधिक, सरकारी निकाय, शैक्षिक संस्था तथा उपभोक्ताहरूलाई एउटै थलोमा ल्याई ज्ञान, प्रविधि र व्यवसायिक अवसरहरूको आदान–प्रदान गर्ने प्रभावकारी मञ्चको रूपमा आफ्नो पहिचान स्थापित गरेको महासंघको भनाइ छ ।
नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिकीकरण तथा डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको वर्तमान अवस्थामा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको छ। विद्युत उत्पादन वृद्धि, प्रसारण तथा वितरण प्रणालीको विस्तार, विद्युत खपत अभिवृद्धि, विद्युतीय सवारीसाधनको प्रवद्र्धन तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकतामा राखिएको वर्तमान राष्ट्रिय आवश्यकता अनुरूप ‘फिन इलेक्ट्रो–टेक २०२६’ ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास महासंघको छ ।
हालै नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले ऊर्जा तथा विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । विद्युत उत्पादन वृद्धि, प्रसारण तथा वितरण पूर्वाधार विस्तार, औद्योगिक क्षेत्रमा विद्युत उपयोग बढाउने, विद्युतीय सवारीसाधनको प्रयोग प्रोत्साहन गर्ने तथा ऊर्जा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यहरू सरकारले अघि सारेको छ । यस्ता नीतिगत प्राथमिकतालाई व्यवहारमा रूपान्तरण गर्न आवश्यक विद्युतीय सामग्री, उपकरण, प्रविधि तथा सेवाहरूको जानकारी, प्रदर्शन र व्यवसायिक सहकार्यका लागि ‘फिन इलेक्ट्रो–टेक २०२६’ एक प्रभावकारी साझा मञ्च बन्ने मेला संयोजक गोपाल अग्रवालले बताएका छन् ।
मेला उद्घाटन समारोह तथा प्रदर्शनी अवलोकनका लागि नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरू, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, ऊर्जा तथा पूर्वाधार क्षेत्रका नीति निर्माताहरू, प्रतिष्ठित उद्योगी–व्यवसायीहरू, वित्तीय संस्थाका प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
यस वर्षको ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ‘फिन इलेक्ट्रो–टेक २०२६’ मा नेपाल, भारत, चीन लगायत विभिन्न देशका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी, उत्पादक संस्था, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको उल्लेखनीय सहभागिता रहेको छ । इलेक्ट्रो–टेकमा ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका अग्रणी ब्राण्डहरूले आफ्ना नवीनतम उत्पादन, सेवा तथा अत्याधुनिक प्रविधिहरूको प्रदर्शनी भइरहेको छ ।
प्रदर्शनीमा ट्रान्सवेल्ड, हेभल्स, केईआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट इलेक्ट्रिकल्स, ब्रिलियन्ट एलईडी, इलेक्ट्रा इलेक्ट्रीक, बजाज, सिमेन्स, क्रम्टन, उषा, एङ्कर, लिपर, स्टेण्डली, के नइन, ओरिएन्ट इलेक्ट्रिक, महालक्ष्मी, चिन्ट, एमजि गोल्ड, सी एण्ड एस इलेक्ट्रिक, प्राइम वायर्स, अर्किड इलेक्ट्रिकल्स लगायतका स्वदेशी तथा बहुराष्ट्रिय ब्राण्डहरूको सहभागिता रहेको छ । प्रदर्शनीले उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था तथा उपभोक्ताबीच ज्ञान, प्रविधि र व्यावसायिक अवसरहरूको आदान–प्रदानका लागि महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजकको भनाइ छ ।
प्रदर्शनीले स्वदेशी उत्पादक, अन्तर्राष्ट्रिय ब्राण्ड, वितरक, डिलर, प्राविधिक तथा उपभोक्ताहरूलाई एउटै मञ्चमा जोड्दै व्यवसायिक सहकार्य, प्रविधि हस्तान्तरण तथा नयाँ अवसरहरूको सिर्जना गरेको छ ।
प्रदर्शनीमा विद्युतीय उपकरण तथा सामग्री, ट्रान्समिसन तथा डिष्ट्रिब्युसन प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, केबल तथा तार, ऊर्जा व्यवस्थापन प्रणाली, स्मार्ट होम तथा स्मार्ट बिल्डिङ समाधान, औद्योगिक स्वचालन , एलईडी, विद्युतीय सुरक्षा प्रणाली, सौर्य ऊर्जा तथा नवीकरणीय ऊर्जा प्रविधि, ई–मोबिलिटी तथा चार्जिङ पूर्वाधार, सूचना प्रविधि, परीक्षण तथा मापन उपकरण तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रदर्शन रहेका छन् ।
प्रदर्शनीको मुख्य उद्देश्य नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको समग्र विकासलाई टेवा पुर्याउनु, स्वदेशी तथा विदेशी उत्पादक, आपूर्तिकर्ता, आयातकर्ता, वितरक तथा उपभोक्ता बीच व्यवसायिक सम्बन्ध विस्तार गर्नु, नवीनतम प्रविधि तथा समाधानहरूको आदान–प्रदानलाई प्रोत्साहन गर्नु तथा स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र दिगो विकासका अवधारणालाई प्रवद्र्धन गर्नु रहेको आयोजकको भनाइ छ । साथै यसले युवाहरू, प्राविधिक जनशक्ति तथा उद्यमीहरूलाई नयाँ अवसरहरूसँग जोड्दै नेपाललाई क्षेत्रीय विद्युतीय तथा ऊर्जा व्यापारको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्रदर्शनी अवलोकनकर्ताका लागि आधुनिक प्रविधि, सुरक्षित तथा गुणस्तरीय सामग्री, ऊर्जा बचत समाधान तथा बजारमा उपलब्ध नयाँ उत्पादनहरूको प्रत्यक्ष जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर भएको छ । प्रदर्शनीमा उपभोक्ताले एउटै स्थलमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरू अवलोकन गर्न, तुलना गर्न, प्राविधिक जानकारी लिन तथा नयाँ प्रविधिको प्रत्यक्ष अनुभव प्राप्त गर्न सक्नेछन् । यसले सुरक्षित तथा गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्न समेत सहयोग पुग्नेछ ।
त्यसैगरी प्रदर्शक कम्पनीहरूका लागि यो प्रदर्शनी आफ्नो ब्राण्ड प्रवद्र्धन, नयाँ उत्पादन सार्वजनिक, बजार विस्तार, व्यवसायिक सञ्जाल निर्माण, सम्भावित ग्राहक तथा वितरकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापना तथा नेपाली बजारको सम्भावना अध्ययन गर्ने महत्वपूर्ण अवसर हुनेछ । नेपाल तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो पहुँच विस्तार गर्न इच्छुक कम्पनीहरूका लागि समेत यो प्रभावकारी व्यवसायिक प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनी अवधिभर विभिन्न अन्तरक्रिया कार्यक्रम, व्यवसायिक भेटघाट, उत्पादन प्रदर्शन, प्रविधि प्रस्तुतीकरण तथा ज्ञानमूलक सत्रहरू सञ्चालन गरिने आयोजकले जनाएको छ । यसमा उद्योगी–व्यवसायी, इन्जिनियर, प्राविधिक, आर्किटेक्ट, निर्माण व्यवसायी, परामर्शदाता, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले नवीनतम प्रविधि तथा अन्तर्राष्ट्रिय अनुभवबाट प्रत्यक्ष लाभ लिन सक्नेछन् ।
यस वर्षको प्रदर्शनीको टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रालि) रहेको छ भने पावर बाई स्पोन्सर ह्याभेल्स (ह्याभेल्स इन्डिया लिमिटेड) रहेको छ । प्लाटिनम स्पोन्सर जनता केईआई (जनता केबल इन्डस्ट्रिज प्रालि), डायमण्ड स्पोन्सर लेजर इन्डिया तथा ग्रेटहाइट इलेक्ट्रीकल्स तथा गोल्ड स्पोन्सर ब्रिलियन्ट एलईडी रहेका छन् । त्यसैगरी अफिसियल बैंक नविल बैंक लिमिटेड, अफिसियल इन्स्योरेन्स सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, अफिसियल क्यारियर एसकेबी ग्रुप, टेक्नोलोजी पार्टनर जुलाई टेक ल्याब्स, इन्टरनेट पार्टनर सजिलो नेट रहेका छन् भने प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन मिडिया स्पेस सोलुसन्सले गरिरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत विभिन्न सरोकारवाला संस्थाहरूको सहयोग तथा सहभागिता रहेको प्रदर्शनीमा देश तथा विदेशबाट उद्योगी, व्यवसायी, उत्पादक, आपूर्तिकर्ता, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, ऊर्जा विज्ञ, विद्यार्थी, सञ्चारकर्मी तथा आम सर्वसाधारण गरी २५,००० आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघमा आबद्ध देशभरिका जिल्ला तथा नगरस्तरीय विद्युतीय व्यवसायी संघहरूको प्रदर्शनीमा सहभागिता रहेको छ । यसले देशभरिका व्यवसायीहरूलाई नवीनतम प्रविधि, उत्पादन तथा व्यवसायिक अवसरहरूसँग प्रत्यक्ष रूपमा जोड्दै प्रदर्शनीलाई अझ प्रभावकारी राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा प्रवेश पूर्णरूपमा निःशुल्क गरिएको छ । तथापि आगन्तुकहरूले अनिवार्य रूपमा क्युआर कोड वा उपलब्ध डिजिटल लिंक मार्फत पूर्व दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थी, अनुसन्धान कर्ता, प्राविधिक जनशक्ति तथा आम नागरिकहरूले आधुनिक विद्युतीय तथा ऊर्जा प्रविधिहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् ।





















