कास्की । पोखरामा ३ हजारलाई हरित रोजगारी सिर्जना गरिने भएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरा प्रदर्शनी केन्द्रमा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्न लागिएको हो ।
पोखरामा सञ्चालित हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन तथा सिकाई आदानप्रदानका लागि पोखरा आएका धनगढी उप–महानगरपालिकाका प्रमुख गोपी हमाल नेतृत्वको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित निर्माणाधीन जिभिजेड सेन्टरको अवलोकनकाक्रममा यस्तो बताइएको हो ।
परियोजनाबाट पुनः प्रयोग गर्न सकिने सामाग्रीहरू मार्फत निर्माण हुने आरयु उत्पादनहरूका सन्दर्भमा महत्त्वपूर्ण कोशेढुंगा सावित हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् ।
परियोजना मार्फत झन्डै १० मिलियन अमेरिकी डलरको लगानी र ३ हजारभन्दा बढी रोजगारी सिर्जना हुने आचार्यले बताएका छन् । फोहोरबाट कोसेली बनाएर बेच्ने गरी यो घरको निर्माण थालिएको नगर प्रमुख धनराज आचार्यले बताएका छन् । परियोजनाले हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने नगर प्रमुख आचार्यको भनाइ छ ।
फोहोरलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण गरिने उनको भनाइ छ ।
धनगढीका प्रमुख हमालले पोखरा महानगरपालिकाले अवलम्बन गरेको असल अभ्यासहरूको सिकाइका लागि आफूहरू पोखरा आएको बताएका छन् । उनले आफूहरूका लागि पोखरा आफैमा विश्वविद्यालय जस्तो रहेको उल्लेख गरे ।
निर्माणाधीन परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।





















