गण्डकी । गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने नीति लिएको छ । प्रदेशले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ नीति तथा कार्यक्रममा ‘एक जिल्लाः एक पर्यटकीय गन्तव्य’ विकासको नीति लिइने उल्लेख गरिएको छ ।
प्रदेशको संस्कृतिलाई जीवन्त राख्न पहिचानसहितका सांस्कृतिक उत्सवलाई प्रोत्साहन गरिने बताइएको छ । रैथाने संस्कृति, स्थानीय उत्पादन, रहनसहन र वेशभूषा प्रवद्र्धन गर्दै होमस्टे तथा फार्म–स्टेलाई स्तरीकरण गरी व्यावसायिकता विकास गरिने नीति तथा कार्यक्रममा भनिएको छ । पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेशको पर्यटनप्रति बढेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय चासो र संवेदनशीलतालाई आत्मसात् गर्दै अन्तर–मन्त्रालय तथा निकायको समन्वयमा एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गरिने जनाइएको छ ।
यसका लागि दोस्रो पञ्चवर्षीय योजना र पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनले पहिचान गरेका रणनीतिक तथा रूपान्तरणकारी कार्यक्रमलाई विशेष प्राथमिकताका साथ कार्यान्वयनमा लगिने जनाइएको छ । दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट र त्रिवेणीधाम जस्ता महत्वपूर्ण धार्मिकस्थल जोड्ने गरी ‘धार्मिक पर्यटन परिपथ’ विकास गरिने भन्दै सरकारले मुख्य पर्यटकीय गन्तव्यमा पहुँच मार्ग ‘हाई अल्टिच्यूट सिक्नेस’को उपचारलगायत आधारभूत सुविधा विस्तार गरिने उल्लेख गरेको छ । पर्यटकीय राजधानी ‘ब्रान्डिङ’का लागि निर्माण थालनी गरिएको ‘राउन्ड फेवाः भ्यू फेवा कार्यक्रम’ आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने उल्लेख गर्दै सरकारले चङ्खपुरदेखि मग्रे बगरसम्म पर्यटकीय आकर्षणका रूपमा फेवा ‘होराइजन पेडिस्टेरियन बृज’ (सेल्फी वृज) निर्माण गर्नाका साथै रुपातालमा सिसाको पुलको सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाइने भनिएको छ । मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमाल तथा ढोरपाटन क्षेत्रको पर्यटकीय सम्भावनालाई विश्वस्तरमा चिनाउन पदमार्ग स्तरोन्नति तथा वैकल्पिक पदमार्ग पहिचान र विकास गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
प्रदेशभित्रका हिमचुली प्रवद्र्धनका लागि नेपाल सरकार र सरोकारवाला निकायसँग सहकार्य गरिने सरकारले जनाएको छ । नेपाल सरकारसँगको समन्वयमा अन्तर प्रदेश सिधा हवाई उडान विस्तारका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
छिमेकी मित्रराष्ट्र (भारत र चीन) बाट आगमन हुने पर्यटकको सङ्ख्या आगामी पाँच वर्षभित्र दोब्बर बनाउने लक्ष्यका साथ नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा ‘गण्डकी जाऔँः प्रकृति र संस्कृतिसँग रमाऔँ’ अभियान सञ्चालन गरिने उल्लेख गरिएको छ । प्रदेशमा उपलब्ध पर्यटकीय वस्तु र सेवाको अन्तरराष्ट्रिय बजारमा सघन प्रचारप्रसार गरिने उल्लेख छ ।
स्काई डाइभिङ, हेली स्किइङ, बन्जी जम्पिङ, उच्च उचाइ साइक्लिङ जस्ता साहसिक गतिविधिको प्रवद्र्धन तथा नयाँ स्थल पहिचान गरिने, पोखरालाई अन्तरराष्ट्रिय सभा सम्मेलन स्वास्थ्य तथा आरोग्य एवम् खेल पर्यटन केन्द्रका रूपमा स्थापित गर्न हरित पूर्वाधार एवम् वातावरणमैत्री यातायात प्रवद्र्धनमार्फत दिगो पर्यटन सुनिश्चित गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।




















