काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १७ ले स्थानीय वडाबासीलाई जेठ १३ गतेदेखि २० दिने रञ्जना लिपि लेखन प्रशिक्षण गरिरहेको छ । ठँहिटिमा रहेको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयमा वडाका ३० जना हरेक दिन बेलुका साढे ५ बजे कक्षामा आउँछन् ।
स्थानीयलाई लिपि लेखनमा प्रोत्साहन गर्न वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर हरेक दिन कक्षामा आउँछन् । सिकाइ क्रियाकलापमा सहभागी बन्छन् । यस क्रममा उनले भने, ‘नेपाल भाषा हाम्रो प्रदेशको कामकाजी भाषा हो । रञ्जना लिपि अन्तर्राष्ट्रिय स्तरमा नेपालको मौलिकता चिनाउने मानक हो । कामकाजी भाषाको प्रवर्धन र मौलिक लिपिको संरक्षण गर्न हामीले प्रशिक्षण थालेका हौँ । यो लिपि केवल अक्षर मात्र होइन । अक्षर कला पनि हो । रञ्जना लिपि लेख्ने व्यक्तिका अक्षर राम्रा हुन्छन् ।’
प्रशिक्षणको चाखलाग्दो विषयमा कुरा गर्दै मानन्धरले भने, ‘७ बर्षका बालबालिकादेखि ६० वर्ष उमेरका व्यक्तिहरु एउटै कक्षामा हुनुहुन्छ । उहाँहरुलाई सिकाउँदा उमेर वा अन्य कुनै कारणले असजिलो छैन । गरे हुने रहेछ नि त, हामीले यस अघि त नगरेका रहेछौँ । यो महसुस गरेर हामीले सबै वडावासीसँगको सहकार्यमा मौलिक लिपिमा अभिलेखन तयार पार्न र भाषा तथा लिपिको उत्थान गर्ने उद्देश्यले प्रशिक्षण चलाएका हौँ ।’
‘नेपाल लिपि र नेपाल संवत् देशकै नाममा विकसित भएका मौलिक पहिचान हुन् । संयुक्त राष्ट्र संघमा नेपाललाई छुट्टै राज्यका रुपमा मान्यता दिलाउन नेपालमा नै विकास भएको रञ्जना लिपिलाई आफ्नो लिपिका रुपमा पेश गरिएको थियो । यस्ता इतिहास बचाउन अहिले थालिएको प्रशिक्षणको ठुलो योगदान हुनेछ ।’ प्रवक्ता मानन्धरले नतिजा र अपेक्षाका कुरा सुनाए । प्रशिक्षणमा नेपाल लिपि, रञ्जना लिपि, अङ्क, लिपि लेखन सिप (क्यालिग्राफी) सिकाइँदैछ ।
‘नेपाल भाषा र रञ्जना लिपिमा १३ स्वर वर्ण हुन्छन् । यसमध्येका ६ वटालाई मान स्वर (मुख्य) वर्ण र यसका ४ थरी मात्रा रुपमा प्रयोग गरिन्छ । व्यञ्जन वर्ण ४१ वटा हुन्छन् । यी वर्णहरु देवनागरिकमा भएका ३६ वटामा ङ पछाडि ‘ङ्ह’, न पछाडि ‘न्ह’, म पछाडि ‘म्ह’, र पछाडि ‘र्ह’ र ल पछाडि ‘ल्ह’ थपिएर ४१ वटा हुन्छन् ।’ नेपाल लिपि गुथिका अध्यक्ष एवं तालिमका मुख्य प्रशिक्षक अनिल स्थापित भन्छन्, ‘नेपाल भाषा हस्वमय भाषा हो । संस्कृतबाट आएका शव्दहरुलाई पनि तद्भव बनाएर प्रयोग गर्न थालिएको छ ।’
नेपालमा लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपिलाई पहिलो लिपिका रूपमा मानिन्छ । त्यो व्राह्मी लिपि हो । नवौँ शताव्दीमा नेपाल लिपिको सुरुवात नेपालमा नै भएको हो । दशौँ शताव्दीको प्रारम्भ ९नेपाल संवत् २८० को समयमा चिकित्सा विद्यासँग सम्बन्धित नेपाल भाषाको हस्तलिखित पुस्तक ‘लङ्कावतार’ लेखिएको पाइन्छ ।
१३ औँ शताव्दीलाई यसको महत्वपूर्ण विकास समयका रुपमा लिइन्छ । त्यस समयमा धर्म, वास्तुकला, साहित्य, कर्मकाण्ड, ज्योतिष शास्त्र, सांस्कृतिक क्रियाकलाप तथा परम्परा, चिकित्सा ज्ञान, सहरी योजना जस्ता विविध विधाका ग्रन्थहरु लेखिएका पाइन्छन् । यिनीहरु हस्तलिखित भएका कारण अहिलेजस्तो धेरै संख्यामा हुँदैनथे । प्रशिक्षक स्थापितका अनुसार राष्ट्रिय अभिलेख संग्रहालयमा करिब १५ हजार र आशा सफूकुथिमा करिब २० हजार यस्ता हस्तलिखित ग्रन्थहरु सुरक्षित गरिएको छ । संग्रहालय सरकारी संयन्त्र हो भने सफूकुथि लिपि जोगाउन समुदाय स्तरबाट स्थापना गरिएको अभिलेखालय हो ।
लेखन र छपाइमा प्रविधि आएसँगै २०७३ सालदेखि यसलाई युनिकोडमा प्रयोग गर्न थालिएको छ । प्रविधिमार्फत भाषानुवाद गरेर पनि अहिले नेपाल लिपि र रञ्जना लिपि अध्ययन गर्न सकिने भएको छ ।





















