skip this News Page Tips Ad Road Block

एन पेनाङ एफसी मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकपको च्याम्पियन

क्वालालम्पुर। मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ। आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।

उपाधिसँगै एन पेनाङ एफसीले ट्रफीसहित २२ हजार मलेसियन रिंगिट नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको न्यु ब्राइज क्लबले ११ हजार मलेसियन रिंगिटमा चित्त बुझाएको आयोजकले जनाएको छ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सुरेश खत्री सर्वश्रेष्ठ खेलाडी (एमभीपी) तथा सर्वाधिक गोलकर्ता घोषित भए। उनको प्रदर्शनले टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेको थियो।

समापन समारोहमा आयोजक आरटीएफसीका अध्यक्ष राजु तामाङले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, खेलाडी, समर्थक तथा सम्बन्धित पक्षप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि नेपाली समुदायबीच खेलकुद गतिविधिलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

मलेसियामा रहेका नेपाली समुदायबीच लोकप्रिय बन्दै गएको आरटी गोल्डकपले खेलकुदमार्फत आपसी एकता, भाइचारा र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस वर्षको प्रतियोगितामा विभिन्न टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Health Tips Ad Road Block