skip this News Page Tips Ad Road Block

छ करोडबढी ठगी गर्ने टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ६ करोडभन्दा बढी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दाकी फरार अभियुक्त टिकटकर तुल्सा अधिकारी थाइल्याण्डमा पक्राउ परेकी छिन्। लामो समयदेखि फरार रहेकी अधिकारीलाई पक्राउ गरी नेपाल ल्याइएको छ । हाल उनलाई ललितपुर प्रहरीको हिरासतमा राखिएको छ। उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएपछि प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध नियन्त्रण संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएको थियो। थाइल्याण्डमा पक्राउ परेकी अधिकारीलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याइएको ललितपुर प्रहरीले जनाएको छ ।

अधिकारीविरुद्ध ललितपुरको सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउन महिनामै जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले अधिकारीमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा उनको बैंक खाता जाँच गर्दा अस्वाभाविकरूपमा ठूलो रकमको कारोबार फेला परेपछि प्रहरीले ठगीका साथै सम्पत्ति शुद्धीकरणको कोणबाट पनि अनुसन्धानलाई अगाडि बढाएको थियो।

जाहेरी परेलगत्तै फरार भई विदेश पलायन भएकी अधिकारीलाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय समन्वय बढाएको थियो, जसको फलस्वरूप अन्ततः उनी थाइल्याण्डमा कानुनी फन्दामा परेकी हुन्।

हाल उनलाई हिरासतमा राखेर थप कानुनी कारबाही र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Health Tips Ad Road Block