skip this News Page Tips Ad Road Block

फास्ट ट्रयाकको भौतिक प्रगति साढे ४७ प्रतिशत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को हालसम्मको भौतिक प्रगति ४७ दशमलव ५६ प्रतिशत पाइएको छ । राजधानी काठमाडौँलाई तराईसँग छोटो दूरीमा जोड्ने राष्ट्रिय गौरवको आयोजनाको वित्तीय प्रगति भने ४८ दशमलव ४५ प्रतिशत रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन् । कुल ७० दशमलव ९७७ किलोमिटर लम्बाइ रहेको आयोजनाको परिमार्जित लागत दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । प्रारम्भिक लागतभन्दा दुई अर्ब दुई करोड रुपैयाँ घटाइएको हो । हालसम्म आयोजनामा ८६ अर्ब ८६ करोड रुपैयाँ खर्च भइसकेको सेनाले जनाएको छ ।

एशियन हाइवे डिजाइन स्ट्यान्डर्ड ‘प्राइमरी क्लास ए’ अनुसार निर्माण भइरहेको यस आयोजनामा सात स्थानमा सुरुङमार्ग निर्माण कार्य भइरहेको छ । सुरुङहरूको कुल लम्बाइ १० दशमलव ९७९ किलोमिटर रहेको छ भने दुईतर्फी लम्बाइ २१ दशमलव ९५८ किलोमिटर रहेको छ । हरेक तीन सय मिटरको दूरीमा एकबाट अर्को सुरुङमा आपतकालिन अवस्थामा जानका लागि क्रस प्यासेज पनि बनाइएको छ ।

हालसम्म ६ दशमलव ४ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ । सबैभन्दा लामो ३ दशमलव ४ किलोमिटरको महादेवडाँडा सुरुङ यसै आर्थिक वर्षको असार मसान्तभित्र ‘ब्रेकथ्रु’ गर्ने योजनासहित निर्माण कार्य अघि बढाइएको सेनाले जनाएको छ । चार किलोमिटर सुरुङको ‘लाइनिङ’ कार्यसमेत सम्पन्न भइसकेको छ । त्यसैगरी आयोजनाअन्तर्गत जम्मा ८९ स्थानमा पुल निर्माण हुनेमध्ये ८५ स्थानमा पुल निर्माण कार्य भइरहेको छ । पुलहरूको दुईतर्फी कुल लम्बाइ २५ दशमलव ७७ किलोमिटर रहेको छ । हालसम्म ३८ स्थानका पुलको सब–स्ट्रक्चर तथा १६ स्थानका पुलको सुपर–स्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ ।

सडक निर्माणतर्फ ४७ दशमलव ११३ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने सात किलोमिटर सर्भिस लेन कालोपत्रे गरिएको छ ।

२०७४ साल वैशाखमा मन्त्रिपरिषद्को निर्णयबाट द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको थियो । २०७६ सालमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएको थियो । २०७७ साल जेठमा अन्तर्राष्ट्रिय परामर्शदातासँग सम्झौता गरी २०७८ जेठबाट नेपाली सेनाले कार्यारम्भ गरेको हो ।

द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौँ–निजगढ यात्रा करिब एक घण्टा दुई मिनेट तथा हेटौंडा–काठमाडौँ यात्रा करिब ३० मिनेटमा पूरा हुने लक्ष्य राखिएको छ ।

Health Tips Ad Road Block