काठमाडौं । काठमाडौंमा नेपाल-रोमानिय बिजनेश फोरम सम्पन्न भएको छ । गार्मेन्ट एसोसियसन नेपालको आयोजना र नेपाल–रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रि, चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रि अफ रोमानिया, एम्बेसी अफ रोमानियाको सहभागितामा बिजनेश फोरम सोमबार सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल–रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिको औपचारिक शुभारम्भ गर्दै लोगो सार्वजनिक गरिएको थियो । कार्यक्रममा सबैलाई स्वागत गर्दै गार्मेन्ट एसोसिएसनका अध्यक्ष पशुपतिदेव पाण्डेले दुई देशबीच लगानी, व्यापार, रेडिमेड गार्मेन्ट (आरएमजी) उद्योग, पर्यटन तथा आर्थिक सहकार्यका विविध सम्भावनाबारे उजागर गरेका थिए । उनले नेपाल र रोमानियाबीच निजी क्षेत्रको सहकार्यले नयाँ आर्थिक अवसर सिर्जना हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमकाे उद्घाटन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक समृद्धि र व्यापारिक साझेदारीका माध्यमबाट थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न रोमानियाली लगानीकर्ताहरूलाई आह्वान गरे ।
कार्यक्रममा नेपालका लागि रोमानियाकी राजदूत सिना ल्याटिफले सहकार्यका सम्भावित क्षेत्रहरुमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले दुई देशबीच कूटनीतिक तथा आर्थिक सम्बन्ध अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल–रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिकी अध्यक्ष बबिता पाण्डेले नेपाल र रोमानियाबीच आर्थिक, व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन तथा उद्यमशीलता विकासका लागि चेम्बरले पुलको भूमिका खेल्ने बताइन् । उनले रोमानियालाई नेपालमा लगानी बढाउन आग्रह गर्दै नेपाली उत्पादनलाई युरोपेली बजारसम्म पुर्याउन पहल गर्ने बताइन् ।
यता रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिकी प्रतिनिधि निकोलेटा इओना सिउफुडियनले दुई देशबीच सहकार्यका प्रशस्त सम्भावना रहेको बताउँदै विशेषगरी गार्मेन्ट, कृषि प्रशोधन, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा संयुक्त लगानी गर्न सकिने धारणा राखिन् ।
कार्यक्रममा गौरव बजाजले नेपाल र रोमानियाबीचको आर्थिक, व्यापारिक सम्बन्ध, सम्भावनाबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा उपस्थितहरुलाई धन्यवाद दिँदै गार्मेन्ट एसोसिएसनका प्रथम उपाध्यक्ष वसन्तराज अधिकारीले नेपाल र रोमानियाबीच दीर्घकालीन आर्थिक साझेदारी निर्माणमा अगाडि बढ्ने भनाइ राखेका थिए ।






















