काठमाडौं । भूमि व्यवस्था, सहकारी, सहा तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको सहकारी विभागले सहकारीहरुमा राजनीति नगर्न कडा चेतावनी दिएको छ ।
विभागले एक सूचना निकालेर राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघ संस्थाहरुको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलहरुबाट दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने गरेको लगायतका विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै यस्तो चेतावनी दिएको हो ।
विभागले सूचनामार्फत भनेको छ, सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तहरु विपरित यस्ता गतिविधिहरुबाट सहकारी ऐन, २०७४ को प्रस्तावना र कानूनी व्यवस्थालाई प्रतिकूल असर पर्न जानेछ ।
यसले सहकारीका सदस्यहरुमा अस्वस्थ प्रतिस्पर्धा बढ्न जाने र सहकारी क्षेत्रमा सुशासन कायम गराउनमा समेत नकरात्मक असर पुग्ने विभागको ठम्याइ छ ।
यस्ता खालका गतिविधिहरुलाई निरुत्साहित गरी सहकारीको मर्म अनुसार सहकारी सञ्चालन हुने वातावरण निर्माण गरी सहकारीमा सुशासन कायम गर्ने, गराउने कार्यमा सहयोग गरिदिन विभागले सबैलाई अनुरोध गरेको छ ।





















