मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे जनाएको छ । मुस्ताङ पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले यसबारे प्रष्ट पारेका हुन् ।
जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनसम्बन्धी छलफलमा उनले कालिगण्डकी करिडोरअन्तर्गत दक्षिणको भैरहवादेखि उत्तरको कोरलासम्मको सडकलाई चाँडो स्तरोन्नति गरी पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना रहेको सुनाए ।
आर्थिक समद्धिको मूल आधार पर्यटन क्षेत्र भएकाले कोरला राजमार्गलाई पर्यटन राजमार्गका रूपमा स्थापित गरिने उनले बताए । मुस्ताङ–डोल्पा सडकलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ ।
मुक्तिनाथ क्षेत्रमा लेक लागेर पर्यटक बिरामी हुने समस्या जटिल बन्दै गइरहेकाले त्यसको समाधानका लागि पर्यटक ‘टाइम कार्ड’ लागू गर्न सरोकार भएका निकायलाई उनले सुझाव दिएका छन् ।




















