रसुवा । रसुवामा ३६५ मेगावाट विद्युत उत्पादन हुन थालेको छ भने निर्माणाधिन ३५६ मेगावाट उत्पादनको तयारी भइरहेको छ । विभिन्न ९ वटा आयोजनाबाट हाल विद्युत उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
रसुवामा नेपालको जलस्रोत विकास इतिहासमा पहिलोपटक २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र भूमिगत संरचनाबाट निर्माण गरिएको थियो । यसले पछिल्ला आयोजनासमेत आधुनिक तथा सुरक्षित ढाँचामा निर्माण हुँदै गएको पुष्टि गर्दै गएको छ । रसुवामा २० मेगावाटको चिलिमे, ५ मेगावाटको तल्लो मैलुङ खोला, ६० मेगावाट माथिल्लो त्रिसूली–३ ए, १४.८ मेगावाट माथिल्लो सान्जेन, ४२.५ मेगावाट तल्लो सान्जेन, १११ मेगावाट रसुवागढी, १४.३ मेगावाट अपर मैलुङ, ७८ मेगावाट सान्जेन खोला रहेका छन् । २० मेगावाट लाङ्टाङ जलविद्युत् आयोजना उत्पादन चरणमा रहेको छ ।
रसुवामा हाल तीन ठूला आयोजना निर्माण चरणमा रहेका छन् । यी आयोजनाबाट थप ३५६ मेगावाट विद्युत् उत्पादन हुने तयारी छ । आयोजना सम्पन्न भएपछि रसुवाले मात्रै सात सय एक मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पठाउन सक्ने रसुवागढी जलविद्युत् आयोजनाका पूर्वकार्यकारी निर्देशक माधवप्रसाद कोइरालाको भनाइ छ ।
निर्माणको अन्तिम चरणमा रहेका आयोजनामा २१६ मेगावाटको अपर त्रिसूली १, ६० मेगावाटको फलाखु खोला, १२० मेगावाटको भोटेकोशी रहेका छन् । यी आयोजनाको निर्माण प्रगति ५० प्रतिशतभन्दा माथि पुगेको प्राधिकरणले जनाएको छ ।





















