काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको कर प्रयोजनाका लागि समेत १० प्रतिशत लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले जेठ २९ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे ५९ औँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा कर्पाेरेशनले प्रवन्धपत्र र नियमावली स्वीकृत गर्ने, ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ १३ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।





















