काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले नेपालमा पहिलोपटक ‘चाइम’ बैठक आयोजना गरेको छ । बैठकमा देशभरका १५ निजी तथा सरकारी अस्पतालका स्वास्थ्य सूचना प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो ।
यससँगै नेपाल औपचारिक रूपमा ‘चाइम भारत अध्याय’को उप–अध्याय बनेको छ । अब नेपालका स्वास्थ्य सूचना प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरू विश्वव्यापी डिजिटल स्वास्थ्य सञ्जालसँग जोडिने भएका छन् ।
‘चाइम’ विश्वव्यापी गैर–नाफामूलक संस्था हो । यसले डिजिटल स्वास्थ्य नेतृत्व र स्वास्थ्य सूचना प्रविधिको विकासमा काम गर्दै आएको छ ।
नेपाल मेडिसिटीका प्रमुख डिजिटल तथा सूचना अधिकृत तथा चाइम भारत अध्यायका सदस्य सुधाकर राईले यो उपलब्धि नेपालको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण भएको बताए । उनले भने, “चाइमसँगको सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सूचना प्रणालीसँग जोड्ने अवसर दिएको छ । अब नेपाली स्वास्थ्य सूचना प्रविधि विज्ञहरूले विश्वस्तरीय ज्ञान, प्रविधि र अनुभवसँग प्रत्यक्ष पहुँच पाउनेछन् ।”
कार्यक्रममा “चाइम नेपाल समुदाय” पनि गठन गरिएको छ । यो समुदाय स्वास्थ्य सूचना प्रविधि क्षेत्रका पेशाकर्मीहरूको व्यावसायिक सञ्जालका रूपमा काम गर्ने बताइएको छ । समुदायमार्फत सदस्यहरूले डिजिटल स्वास्थ्य, साइबर सुरक्षा, दूरस्वास्थ्य सेवा, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय प्रमाणपत्र कार्यक्रमसम्बन्धी जानकारी र अवसर पाउनेछन् ।
कार्यक्रममा भारतका विभिन्न अस्पतालका स्वास्थ्य सूचना प्रविधि विज्ञहरू पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए । चाइम भारत अध्यायले नेपालको डिजिटल स्वास्थ्य रूपान्तरणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
अधिकृत राईले नेपालमा चाइमको उपस्थितिले स्वास्थ्य क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताए । उनले भने, “यसले डिजिटल स्वास्थ्य रूपान्तरणलाई गति दिनेछ । साथै स्वास्थ्य सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई अन्तर्राष्ट्रिय अनुभव र सिकाइसँग जोड्नेछ ।”
यसअघि पनि नेपाल मेडिसिटीले स्वास्थ्य प्रविधिमा महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ । हालै भारतको हैदराबादमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अस्पतालले ‘एक्सिलेन्स इन रिमोट हेल्थ केयर’ पुरस्कार प्राप्त गरेको थियो ।
उक्त पुरस्कार अस्पतालले दूरस्वास्थ्य सेवा, टाढाबाट गरिने चिकित्सकीय परामर्श, सघन उपचार कक्षको दूरसेवा तथा स्मार्ट अस्पताल प्रणालीमा गरेको योगदानका लागि प्रदान गरिएको हो ।






















