काठमाडौँ । होटल संघ नेपालले भोलिदेखि भारतको नयाँ दिल्लीमा नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल र भारतका प्रमुख पर्यटन व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले विशेषगरी गर्मीयाममा भारतीय पर्यटकहरूको आगमन वृद्धि गर्ने लक्ष्य राखेको छ ।
हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा ६५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलले अप्रिल २८ मा “नेपाल वैवाहिक गन्तव्य” तथा अप्रिल २९ मा “नेपाल तपाईंको नजिक, कल्पनाभन्दा उत्कृष्ट बिदा गन्तव्य” शीर्षकका कार्यक्रमहरूमा भाग लिनेछ।
प्रतिनिधिमण्डलमा हानका पदाधिकारी, बोर्ड सदस्य तथा देशभरका सदस्य होटलहरूको सहभागिता रहने छ उक्त नेपाल प्रवद्र्धनात्मक कार्यक्रम दिल्लीस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहयोग रहेको छ ।
तीन दिने कार्यक्रम अवधिभर नेपाली टोलीले भारतीय समकक्षीसँग बी–टु बी भेटघाट गर्नुका साथै “नेपाल पर्यटन साँझ” मा पनि सहभागिता जनाउनेछन् । उक्त कार्यक्रममा Hotel Association of India, Federation of Hotel and Restaurant Associations of India tyf Travel Agents Association of India का वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।
कार्यक्रममार्फत हानका सदस्य होटलहरूले भारतीय परिवार, समूह पर्यटक, तीर्थयात्री, नवविवाहित जोडी, हनिमुन यात्रु, कर्पोरेट ग्राहक तथा प्रकृति, संस्कृति र साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूलाई लक्षित विशेष प्याकेजहरू सार्वजनिक गर्नेछन् ।
यसैबीच, मध्यपूर्व संकटका कारण उडान अवरुद्ध हुनु र हवाई भाडा वृद्धि भएको सन्दर्भमा छिमेकी नेपालमा भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा होटल संघ नेपालले गरेको छ ।






















