काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा वैशाख अन्तिम साता प्रकाशन गर्ने भएको छ । विगतमा परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यस पटक भने एक महिनाभित्रमै नतिजा सार्वजनिक गर्न लागेको हो ।
बोर्डका अनुसार एसइईको उत्तरपुस्तिका परीक्षण सकेर परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ ।
अहिलेकै गति अनुसार काम भयो भने तेस्रो साताको अन्तिममा नतिजा प्रकाशन गर्ने योजना रहेको बोर्डले जनाएको छ । यो काम पनि एक दुई दिनमा सकिने छ । प्राप्ताङ्क प्रविष्ट गरेपछि एक चरण रुजु गरिने छ । रुजु गर्दा पनि कुनै प्राविधिक समस्या देखिएन भने नतिजा प्रकाशनको प्रक्रियामा जाने छ । एसइई गत चैत २९ गते सकिएको थियो ।






















