काठमाडौं । अमेरिकी बन्दरगाह नाकाबन्दी जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ता यसै हप्ता पुनः सुरु हुन सक्ने संकेत गरेपछि विश्व बजारमा सकारात्मक आशा पलाएको छ ।
बिबिसीले जनाएअनुसार खाडी, पाकिस्तानी र इरानी अधिकारीहरूले पनि वाशिंगटन र तेहरानका वार्ता टोलीहरू यस हप्ताको अन्त्यमा पाकिस्तान फर्कन सक्ने बताएका छन्, तर मितिमा भने अहिलेसम्म सहमति भएको छैन।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता यस हप्ता पुनः सुरु गर्न सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ ।
ट्रम्पले न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा यसबारे उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चाररमाध्यमको भनाइ छ ।
इरानी पक्षले ट्रम्पको भनाइबारे कुनै आधिकारिक जवाफ दिएको छैन ।
बिबिसीका अनुसार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि वार्ता पुनः सुरु हुने अत्याधिक सम्भावना रहेको बताएका छन्।
यसले कूटनीति जारी रहने आशाले तेल(इन्धन) बजारलाई शान्त पार्न मद्दत गर्ने बताइएको छ ।
गत २८ फेब्रुअरीमा अमेरिकी र इजरायली हवाई आक्रमण भएदेखि इरानले तेल र ग्यास ढुवानीको लागि महत्वपूर्ण विश्वव्यापी जलमार्ग होर्मुजको जलडमरूमलाई प्रभावकारी रूपमा बन्द गरेको छ। एक दर्जनभन्दा बढी अमेरिकी युद्धपोत र लगभग १०,००० अमेरिकी सैन्य कर्मचारीहरूले अब इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने वा बाहिर निस्कने कुनै पनि देशका जहाजहरू विरुद्ध नाकाबन्दी लागू गरिरहेका छन् ।
यसअघि पाकिस्तानको राजधानी इस्लामावादमा भएको प्रारम्भिक उच्चस्तरीय वार्तामा कुनै सम्झौता हुन सकेको थिएन ।
यता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एक चेतावनी दिँदै युद्ध जारी रहे विश्वव्यापी अर्थतन्त्र नै मन्दीमा पुग्ने चेतावनी दिएको छ ।






















