काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिीका लागि र ९४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै कम्पनीले सामूहिक लगानी कोषहरुका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि १८ हजार ८०० कित्ता शेयर बाँडफाँट गरिसकेको छ । त्यसपछि अब कम्पनीले बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारण शेयरधनीहरुका लागि निष्काशन गरेको हो ।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आईपीओमा आवेदन दिन सकिनेछ ।
सरकारले दुई बिदा दिएपछि आईपीओ भर्ने म्याद चैत ३० बाट वैशाख २ सम्म सरेको हो ।






















