skip this News Page Tips Ad Road Block

सरकार उदासिन बनेको भन्दै आज पनि अस्पतालका सेवा बन्द, डाक्टरहरु प्लेकार्ड लिएर सडकमा उत्रने

काठमाडौं । । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीहरुलाई कानून बमोजिम कारवाही गर्न माग गरिएको अवस्थामा स्थानीय प्रशासन एवं नेपाल सरकारले उदासीनता देखाएको भन्दै नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ । यसअनुरुप आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय संघले गरेको छ ।

घटना घटेको ४ दिन बितिसक्दा समेत दोषीहरुलाई कानून बमोजिम मुद्दा दायर गरी कारवाही नहुनु र पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि उल्टै दमन र अन्याय गरिएको संघको आरोप छ । साथै वार्तामा गएका चिकित्सकहरुमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखद्वारा दुर्व्यवहार गरिनु अत्यन्त लज्जास्पद रहेको संघको ठहर छ।

संघको आकस्मिक बैठकले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

१. मिति २०८३/०४/१३ गते बुधबारका दिन देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने ।

२. मिति २०८३/०४/१३ गते बुधबार बिहान १० बजे काठमाडौँ उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्ने।

३. मिति २०८३/०४/१३ गते बुधबार काठमाडौँ उपत्यका बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र आफू कार्यरत संस्थामा धर्ना दिई विरोध प्रदर्शन गर्ने ।

संघले आन्दोलनबाट आम नागरिकहरूमा पर्न जाने असुविधा प्रति क्षमा माग्दै यसको जिम्मेवार नेपाल सरकार स्वयं रहेको बताएको छ ।

Health Tips Ad Road Block