काठमाडौं । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) को १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाको १८ वार्षिक साधारण सभा एवं वनभोज कार्यक्रम बुढानिलकण्ठमा सम्पन्न भएको हो । कार्यक्रममा व्यवसायीहरुले स्थाई पर्यटन नीतिमा जोड दिए ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै संस्थाका अध्यक्ष मान बहादुर शाहीले स्थापना कालदेखि नै पर्यटन उद्योगको विकास, व्यवसायीहरुको हकहित संरक्षण तथा नेपालको पर्यटन प्रवद्र्धनका लागि सक्रियरुपमा काम गर्दै संस्था सोट्टो नेपालले गत वर्षमा विभिन्न सरोकारवाला निकायका प्रमुख(एनटीभी सिओको टिम) सँग भेटघाटमा समसामयिक विषयमा ध्यानाकर्षण गराएकाे जानकारी दिए । उनले पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई १७ बुँदे मागसहितका विवरण बुझाइएको, नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरी आइटा, एडिएम,कमिसन लगायत सम्बन्धमा विभिन्न माग राखेकाे जानकारी दिए ।
लुम्बिनी प्रदेश च्याप्टर निर्माण, २९ देखि ३१ जनवरी २०२६ मा भारतको कलकत्तामा सेल्स मिशन गरिएको, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उदेश्यले कलकताको ग्लोबल ट्राभल वेलफेयर एसोसिएसनसँग एक सम्झौता सम्पन्न गरिएको अध्यक्षले सभालाई जानकारी गराए । यस समझदारी पत्रले पर्यटन आदान प्रदान, व्यापार विस्तार, तालिम तथा पर्यटन प्रवर्दनका साझा कार्यक्रम संचालन गर्न सहयोग हुने आशा गरिएको छ । त्यस्तै नेपाल र भारतको पर्यटन बजारबीच सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
एआई लगायत विभिन्न तालिममा जोड दिइएको भन्दै अध्यक्ष शाहीले नेपालको पर्यटन क्षेत्र अपार सम्भावनाले भरिएको बताए । हिमाल, पहाड, तराई, विभिन्न संस्कृति, सम्पदा, साहसिक पर्यटन, धार्मिक पर्यटन तथा ग्रामिण पर्यटन जस्ता क्षेत्रहरुले नेपाललाई विश्व पर्यटन बजारमा विशेष स्थान दिलाउन सक्छ तर यी सम्भावनालाई व्यवहारमा परिणत गर्न निजी क्षेत्र,सरकार र स्थानीय समुदायबीच घनिष्ट सहकार्य आवश्यक रहेको धारणा उनले राखे । स्थायी सरकारले स्थायी नीति निर्माण गरेर यस क्षेत्रलाई सहयोग पुर्याउने आशा राख्दै उनले संस्थाका आगामी रणनीतिहरु पनि राखे । उनले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धन, विस्तार गर्ने(मे,जुन तिर बंगालादेशमा सेल्श मिशन ), नयाँ तथा ओझेलमा परेका गन्तव्यहरुको प्रचार प्रसार गर्ने, पर्यटन व्यवसायीहरुको क्षमता विकास गर्नका लागि एआइ र अकाउन्टिङ तालिमको व्यवस्था गरिने, डिजिटल मार्केटिड. र आधुनिक पर्यटन प्रवद्र्र्धनमा जोड दिनका लागि एआइ को तालिम गरिने, सरकारसँग सहकार्य गर्दै पर्यटन नितिलाई व्यवसायमैत्री बनाउन पहल गर्ने बताए ।
सभामा संस्थाका निवर्तमान अध्यक्ष भुवन बहादुर पाण्डेले जेनजी आन्दोलनपछि बनेको सरकारले पर्यटनसँग सम्बन्धित नीति बनाउँदा दिर्घकालसम्म त्यसको असर के पर्दछ भनेर ध्यान दिन सरकारलाई सुझाए । पाण्डेले पर्यटन नीति, नियम बनाउँदा सनकको भरमा लागु गर्ने र सनकको भरमा हटाउने काम नगरियोस भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । त्यसैगरी पर्यटन प्रवद्र्धनको सहकार्यमा नेपाल पर्यटन बोर्डको ध्यानाकर्षण गराए ।
सोट्टोका पूर्व अध्यक्ष यम बहादुर खड्काले साना व्यवसायीलाई भ्याटको समस्या रहेको भन्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले नयाँ परिस्थिति अनुसार पर्यटनमा नयाँ समस्या निम्तिएको र त्यसको समाधानको उचित कदम चाल्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सुमन घिमिरेले मध्यपूर्व युद्धको चपेटामा परेको नेपाली पर्यटन उद्योगमा त्यसैबाट अवसर सिर्जना गर्न सकिने धारणा राखे । यसतर्फ सोच्न उनले व्यवसायीलाई आग्रह गरे । अहिले शक्तिशाली सरकार आएको र यसले सबैमा आशा जगाएको उनको भनाइ थियो । उनले सोट्टो नेपालका कार्यक्रमहरुलाई बोर्डको आगामी बजेटमा समावेश गराइने भनाइ राखे ।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष दिनेश बस्नेतले सबैलाई स्वागत गर्दै पर्यटन उद्योग अर्थतन्त्रको आधार रहेको भन्दै नयाँ रणनीति तय गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । उनले एकताबद्ध प्रयासले यस क्षेत्रलाई माथि उठाउन सकिने धारणा राखे ।
त्यस्तै संस्थाका महासचिव कुमार पराजुली सभामा आफ्नो प्रतिवेदन पेश गरे । महासचिव पराजुलीले संस्थाका काम कारवाहीहरुलाई प्रभावकारी ढंगले अघि बढाउनका लागि विज्ञ सल्लाहकारहरु, विभिन्न उपसमितिहरू निर्माण गरी संयोजक तथा सदस्यहरू तोकेर जिम्मेवारी हस्तान्तरण गरेको सो अवसरमा जानकारी गराए । उपसमितिहरूमा सचिवालय व्यवस्थापन, प्रशासन, वेब र सामाजिक सञ्जाल समिति संयोजकमा कुमार पराजुली, सदस्य विस्तार उपसमिति संयोजकमा माधव कँडेल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन उपसमिति संयोजकमा दिनेश बस्नेत, तालिम तथा विकास कार्यक्रम उपसमिति संयोजकमा प्रेमकुमार दनुवार र एलएटीए एवम् उड्डयन उपसमिति संयोजकमा दिनेश बस्नेतलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए ।
यो एक वर्षको अवधिमा विभिन्न १५ कम्पनीहरुले सोट्टोको सदस्यता लिएको सो अवसरमा जानकारी गराउँदै प्रमाणपत्र प्रदान गरिएको थियो ।
महासचिव पराजुलीले सभामा आगामी वर्ष २०८२/०८३मा गर्ने प्रस्तावित कार्यहरु समेत पेश गरेका थिए ।
यस्तो छ महासचिव पराजुलीले प्रस्तुत गरेको प्रस्तावित कार्यहरुः
१) हवाई कम्पनीहरुद्वारा पर्यटकलाई लगाइने यु एस डी हवाई भाडा विशेष गरेर सुगम (सहरी) क्षेत्रमा हवाई भाडा समायोजन गर्न सम्बन्धित निकायसँग पहल गर्ने ।
२) नव निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल यथासिघ्र सञ्चालनमा ल्याउन नेपाल सरकारलाई आव्हान गर्ने ।
३) भारतीय पर्यटकले लिएर आउने रकमको सीमा बढाउन सम्बन्धित निकायसँग पहल गर्ने ।
४) नेपालमा आन्तरिक पर्यटन सहजीकरणका लागि भुक्तानी प्रणलीलाई इ–पेमेन्टमार्फत गर्न पहल गर्ने ।
५) पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी आन्तरिक तथा बाह्य प्रवद्र्धनात्मक कार्यक्रम गर्ने ।
६) आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि नेपाल सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्ने गरि कानुन निर्माण गर्दै गरेको अवस्थामा सोट्टो–नेपालको प्रदेश स्तरीय संरचना भएको ठाउँहरुमा सो संस्थालाई सक्रिय बनाउँदै, नभएका ठाउँहरुमा प्रदेश सरकार र स्थानीय सरकारसँग मिली आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने ।
७) नेपाल सरकार समक्ष पेश गरिएको सोट्टो–नेपालको माग तथा सुझाव कार्यान्वयन गर्न हरतरहले लागि पर्ने ।
८) विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागिता जनाउने ।
९) संस्था परिवार तथा यससँग सम्बन्धित सबै संघ संस्थाहरुसँग सुमधुर सम्बन्ध विस्तार गरी पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने ।
१०) संस्थाको आर्थिक उन्नतिको लागि विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्ने ।
११) नेपाल सरकारले पर्यटन प्रवद्र्धन विकास र विस्तारमा गर्ने विभिन्न नीति नियममा सक्रियतापूर्वक आफ्नो उपस्थिति जनाउने र यसका लागि गठन गर्ने समिति उपसमितिहरुमा संस्थागत प्रतिनिधि पठाउने प्रयास गर्ने ।
१२) संस्थाको हकहित, सदस्यहरुको व्यापार विस्तार तथा व्यवसायिक कठिनाइहरुलाई समाधान गर्नको लागि कुनै कसर बाँकी नराखी अगाडि बढ्दै सोट्टो–नेपाललाई यस क्षेत्रका सबै व्यवसायीहरुको अग्रणी संस्था बनाउने ।
१३) सदस्यता बिस्तारलाई व्यापकरुपमा विस्तार गर्ने ।
१४) संस्थाको क्षमता अभिवृद्धि तथा आफ्ना सदस्यहरुको व्यावसाय विस्तार तथा व्यावसायिक सक्षमता विस्तारका लागि विविध किसिमका व्यावसायिक तालिमहरुको आयोजना गरिने ।
१५) समय सापेक्ष अन्य कार्यहरु कार्यसमितिले निर्णय गरेअनुसार गरिने ।
सभामा कोषाध्यक्ष मधुसुदन नेपालले आफ्नो प्रतिवेदन पेश गर्दै संस्थाको आर्थिक अवस्थाबारे जानकारी गराएका थिए ।





















