काठमाडौं । ललितपुरस्थित नेपाल मेडिसिटीमा ब्रेन डेथ (मस्तिष्क मृत्यु) घोषणा, डोनर व्यवस्थापन र अंग दान प्रक्रियासम्बन्धी महत्त्वपूर्ण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल अर्गन डोनेशन फाउन्डेशनको आयोजना तथा नेपाल मेडिसिटी, फुलब्राइट स्पेशलिस्ट प्रोग्राम, र युरोपियन सोसाइटी फर अर्गन ट्रान्सप्लान्टेशनको सहकार्यमा आयोजित उक्त कार्यशालामा देशभरका २० वटा अस्पतालका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशाला अप्रिल ५ बाट शुरु भई १० सम्म सञ्चालन भएको थियो भने कार्यशालामा भाग लिएका उत्कृष्ठ सहभागिहरुलाई अवार्ड प्रदान गरिएको छ ।
नेपालमा सन् १९९८ मा मानव अंग प्रत्यारोपण ऐन लागू भएको र सन् २०१६ को संशोधनमार्फत ब्रेन डेथ अंग दानको व्यवस्था थपिए पनि अपेक्षित प्रगति हुन सकेको छैन । नेपाल अर्गन डोनेशन फाउन्डेशनका संस्थापक अध्यक्ष तथा लिभर ट्रान्सप्लान्ट सर्जन डा. प्रदेज सापकोटाले हालसम्म नेपालमा जम्मा ७ वटा मात्र ब्रेन डेथ अंग दान सम्पन्न भएको उल्लेख गर्दै यस क्षेत्रको अवस्था चिन्ताजनक रहेको बताए । उनका अनुसार आईसीयू र अपरेसन थिएटरमा कार्यरत स्वास्थ्यकर्मीहरूमा ब्रेन डेथ बिरामी व्यवस्थापनसम्बन्धी पर्याप्त तालिमको अभाव प्रमुख चुनौतीको रूपमा रहेको छ ।
यस अवसरमा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले बहुविषयक सहकार्यको महत्त्व औंल्याउँदै भने, “अंग दानजस्तो संवेदनशील क्षेत्रमा जनचेतना, दक्ष जनशक्ति र प्रणालीगत सुधार अत्यावश्यक छ । यस्ता पहलले नेपालमा दीगो र प्रभावकारी अंग प्रत्यारोपण प्रणाली निर्माणमा टेवा पुर्याउँछ ।”
त्यसैगरी नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. अमित टोमरले यस्तो कार्यशालाले नेपालमा अंग दान प्रणाली सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, “ब्रेन डेथ अंग दानबारे स्पष्ट ज्ञान र व्यवहारिक सीप अभिवृद्धि गर्नु आजको आवश्यकता हो । यसले धेरै बिरामीहरूको जीवन बचाउन सक्ने सम्भावना बढाउँछ ।”
कार्यशालाको मुख्य उद्देश्य चिकित्सक, इन्टेन्सिभिस्ट, नर्स तथा ट्रान्सप्लान्ट समन्वयकर्ताहरूलाई ब्रेन डेथ घोषणा, डोनर व्यवस्थापन तथा अंग दान प्रक्रियाका चिकित्सकीय, नैतिक र सञ्चारसम्बन्धी पक्षमा व्यावहारिक ज्ञान प्रदान गर्नु रहेको थियो । कार्यशालामा ३० वटा अस्पतालबाट ९० जना स्वास्थ्यकर्मी सहभागी भएका थिए, जसमा प्रत्येक अस्पतालबाट एकजना इन्टेन्सिभिस्ट, एकजना ट्रान्सप्लान्ट समन्वयकर्ता र एकजना वरिष्ठ आईसीयू नर्सको प्रतिनिधित्व रहेको थियो ।
कार्यशालामा अमेरिकाबाट आएका विशेषज्ञहरूको पनि सहभागिता रहेको थियो । एमोरी विश्वविद्यालयकी एनेस्थेसियोलोजीकी एसोसिएट प्रोफेसर तथा ट्रान्सप्लान्ट एनेस्थेसियोलोजीकी निर्देशक डा. सिनामोन एल. सुलिभनले ब्रेन डेथ परीक्षण र आईसीयू व्यवस्थापनका व्यावहारिक पक्षमा प्रशिक्षण दिए । त्यस्तै, लाइफ लिङ्क अफ जोर्जियाकी कार्यकारी निर्देशक तथा सर्टिफाइड प्रोक्युरमेन्ट ट्रान्सप्लान्ट कोअर्डिनेटर होप ए. वीडले परिवारसँग प्रभावकारी सञ्चार, शोक परामर्श तथा अंग दान प्रक्रियासम्बन्धी आफ्नो १५ वर्षभन्दा बढीको अनुभवका आधारमा तालिम प्रदान गरे ।
विशेषज्ञहरूका अनुसार नेपालमा ब्रेन डेथ अंग दानको दर अत्यन्त न्यून रहेको छ । यस कार्यशालाले बहुविषयक अस्पताल टोलीहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गर्दै दीगो राष्ट्रिय प्रणाली निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । साथै, यस पहलले बिरामीको मर्यादाको सम्मान गर्दै शोकग्रस्त परिवारलाई सहयोग पुर्याउने र जीवनरक्षक प्रत्यारोपण सेवाको विस्तारमा टेवा दिने विश्वास व्यक्त गरिएको छ ।
यो तालिममा नेपालभरका २० अग्रणी स्वास्थ्य संस्थाबाट ७३ जना स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागी संस्थाहरूमा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी, नेपाल मेडिसिटी अस्पताल, बी एण्ड बी अस्पताल, सिभिल सर्भिस अस्पताल, नोरभिक इन्टरनेशनल अस्पताल, अन्नपूर्ण न्युरो अस्पताल, ग्रान्डे इन्टरनेशनल अस्पताल, वीरेन्द्र अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा केन्द्र, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल आई बैंक, तिलगंगा आँखा प्रतिष्ठान, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, धुलिखेल अस्पताल, शिर मेमोरियल एडभेन्टिस्ट अस्पताल, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाल अर्गान डोनेसन फाउन्डेसन रहेको थियो ।






















