काठमाडौं । ई-बुकिङ नेपाल प्रा. लि. र पाटन स्टे एसोसिएसनबीच पाटन क्षेत्रको हेरिटेज पर्यटन प्रवर्धन तथा डिजिटल बुकिङ प्रणाली विस्तार गर्ने उद्देश्यले रणनीतिक सहकार्य सम्झौता सम्पन्न भएको छ।
पाटन स्टे एसोसिएसनले पाटन हेरिटेज क्षेत्रमा रहेका होमस्टे, हेरिटेज होम, BnB, होटल, लज तथा अपार्टमेन्टहरु लाई प्रतिनिधित्व गर्दछ। उक्त सहकार्य अनुसार ई-बुकिङ नेपाल एसोसिएसनका सदस्य सम्पत्तिहरूका लागि एक्सक्लुसिभ डिजिटल बुकिङ पार्टनरको रूपमा रहनेछ ।
यस सहकार्य मार्फत पाटन क्षेत्रका सम्पूर्ण सहभागी आवास सेवाहरूलाई एउटै अनलाइन प्लेटफर्ममा ल्याइनेछ, जसले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सजिलो रूपमा बुकिङ गर्न सहयोग पुऱ्याउनेछ। साथै, ई-बुकिङ नेपाल प्लेटफर्ममा “Patan Heritage Stay” नामको विशेष क्यार्टेगोरी तयार गरिने जनाइएकाे छ ।
यस पहल अन्तर्गत सहभागी सम्पत्तिहरूमा QR आधारित बुकिङ प्रणाली लागू गरिनेछ, जसले अतिथिहरुलाई सिधै अनलाइन बुकिङ गर्न सहज बनाउने बताइएकाे छ। दुवै संस्थाले संयुक्त रूपमा पाटनको संस्कृति, सम्पदा तथा पर्यटन गतिविधिहरूको डिजिटल माध्यमबाट प्रचार-प्रसार गर्नेछन् ।
यो सहकार्यले स्थानीय आवास व्यवसायलाई सहयोग गर्ने, डिजिटल बुकिङ बढाउने तथा पाटनलाई प्रमुख हेरिटेज स्टे गन्तव्यको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
यस साझेदारीले नेपालको पर्यटन क्षेत्रलाई स्थानीयस्तरबाट व्यवस्थित गर्ने प्रयासलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।






















