skip this News Page Tips Ad Road Block

‘विद्यालयको घण्टी बज्दा विद्यार्थी खुशी हुने अवस्था अन्त्य गर्न काम गरौँ’ 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाल विकास सहजकर्ताका लागि ५ दिने क्षमता विकास तालिमको पहिलो चरण सम्पन्न गरेको छ । चैत १५ गतेदेखि पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय डिल्लीबजारमा सञ्चालन भएको यस चरणको तालिम आज समापन गरिएको हो । तालिममा नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रले तर्जुमा गरेको प्रारम्भिक बाल विकास र शिक्षा पाठ्यक्रममा आधारित क्षमता विकास तालिम गराइएको हो । पहिलो चरणमा महानगरपालिकाको आन्तरिक स्रोतबाट नियुक्त भएका ५७ जना सहजकर्ता सहभागी हुनुभएको थियो । दोस्रो चरणको तालिम चैत २२ गतेदेखि प्रारम्भ हुनेछ ।

समापन अवसरमा महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले विद्यालयमा कक्षाको अन्तिममा घण्टी बज्दा विद्यार्थीहरु खुशी हुनु भनेको बालमैत्री शिक्षण क्रियाकलापमा कमजोरीको संकेत भएको उल्लेख गरे । उनले भने, ‘कक्षा सकिएको घण्टी बज्दा अझै एकछिन कक्षामा बस्न पाए हुन्थ्यो भन्ने बनाउनु पर्छ । यसका लागि हामी शिक्षकको मनोबल उच्च बनाएर शैक्षिक गुणस्तर बढाउन चाहन्छौँ । मिलेर काम गरौँ ।’

विकासको जग शिक्षा र शिक्षाको जग प्रारम्भिक बाल विकास कक्षा भएको उल्लेख गर्दै शिक्षा विभागका प्रमुख नमराज ढकालले, शिक्षकहरुलाई जीवन वृत्ति तथा सेवा निवृत्त जीवनपछिको आर्थिक सुरक्षाका लागि विभागले नीति तथा योजना निर्माण गरिरहेको बताए । ‘अस्थायी र करार सेवाका शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएर भए पनि सेवा पछिको जीवनको सुरक्षामा काम गर्छौँ ।’ उनको भनाइ थियो ।

प्रारम्भिक बाल विकास केन्द्रबाट ५ वर्षसम्मका (४८ देखि ६० महिनासम्मका) बालबालिकामा हुनु पर्ने सर्वाङ्गीण विकास सुनिश्चित गर्न बालबालिकाको स्तर पहिचान तथा उपचारात्मक रणनीतिमा तालिम केन्द्रीत थियो । यस अन्तर्गत सहभागीले शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, बौद्धिक तथा भाषिक विकासका पक्षहरू सम्बन्धित क्रियाकलापमा दैनिक कार्यतालिकामा आधारित रहेर सुक्ष्म शिक्षण समेत गरेका थिए । यसरी सिकाइएको ज्ञान र सिप प्रयोग हुन्छ कि हुन्न, विद्यालय र कक्षाको नियमित अनुगमन गरिने वरिष्ठ विद्यालय निरीक्षक धनकुमारी भण्डारीले बताइन् ।

तालिमले हामीलाई परिवर्तन गरायो । तालिमपछि अनुभव सुनाउँदै महेन्द्र बौद्ध माध्यमिक विद्यालयका सहजकर्ता राधा भट्टले शिक्षक भएर होइन, घरकी आमा भएर स्नेहपूर्वक वातावरणमा सिकाउनु पर्ने महसुस हुनु तालिमको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताइन् । त्यस्तै प्रशिक्षक कमला गुरुङ्ले आमाबुबाका काखको मायाले हुर्किँदै गरेका बालबालिकालाई विद्यालयको वातावरणमा घुलमिल गराउने सिप कार्यान्वयन हुने अपेक्षा गरिन् । ‘सानोतिनो सिपले काम गर्दैन । केन्द्रमा आएका बालबालिकालाई उनीहरुको रुचि बुझेर केन्द्रको वातावरणमा घुलमिल गराउन सक्ने क्षमताका शिक्षक उत्पादनमा लगानी गर्नु महानगरपालिकाको अनुकरणीय कार्यक्रम हो ।’ उनको भनाइ थियो ।

महानगरपालिकाले प्रारम्भिक बाल स्याहार र विकास तथा प्रारम्भिक बाल शिक्षा र विकासलाई छुट्याएर कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । ४ बर्षभन्दा कम उमेर भएका बालबालिकालाई प्रारम्भिक बाल स्याहार तथा विकास (अर्ली चाइल्ड केयर एण्ड डिभलपमेन्ट, इसिसिडी), ५ वर्षका बालबालिकालाई प्रारम्भिक बाल शिक्षा तथा विकास (अर्ली चाइल्ड एजुकेसन एण्ड डिभलपमेन्ट, इसिइडी) र कक्षा १ देखि ३ सम्मका बालबालिकालाई समेत इसिइडीको अवधारणा अनुरुप नै बालमैत्री शिक्षा कार्यान्वयन गर्ने नीति अनुरुप महानगरपालिकाले काम गरिरहेको छ ।

बाल विकासको सुरुवात गर्भावस्थादेखि नै हुन्छ । यसबेलादेखि शिशु स्याहारका कार्यक्रम चाहिन्छन् । घर बाहिरको सिकाइ सुरु हुने बेला देखि ८ वर्षको उमेरसम्मका बालबालिकाका लागि प्रारम्भिक बाल विकास कार्यक्रमअन्तर्गतका क्रियाकलाप सञ्चालन हुनेछन् ।

Health Tips Ad Road Block